ओलीको असामान्य अभिमान
पद–प्रतिष्ठा प्राप्त भइसक्दा मानिसमा अभिमान जाग्छ । यो सामान्य कुरा हो । प्रभुता प्राप्त गर्नासाथ व्यक्तिमा अभिमान आउँछ नै । प्रभुता प्राप्त हुँदा पनि मद नआउने मानिस अहिलेसम्म धर्तीमा जन्मिएकै छैन । कसैले आफ्नो विनम्रताका कारण, शिष्टताका कारण अभिमानलाई लुकाउँछन् । कसैले अभिनयद्वारा अभिमान लुकाउँछन्, कसैले चाहिँ छताछुल्ल हुने गरी प्रकट गरिदिन्छन् । पदमा पुगेपछि हरेकमा अभिमान त जाग्छ नै । यो अहिले कलियुगमा मात्रै होइन, अनादिकालदेखिकै प्रचलन हो । पृथ्वीमा रहेका मानिसमा मात्रै होइन, स्वर्गमा रहेका देवतामा पनि त्यही हो ।
केही उदाहरणबाट थप प्रष्ट हुन्छ । एकपटक प्रजापतिहरूको सम्मेलनबाट दक्ष प्रजापति सर्वसम्मत अध्यक्ष चुनिए । अध्यक्ष बनाइएपछि उनमा अभिमान जागिहाल्यो । प्रजापतिहरूको अर्को एउटा सभामा सबैले उठेर अध्यक्षको स्वागत गरे । भगवान् शंकर र ब्रह्माजी चाहिँ उठ्नुभएन । दक्षले ब्रह्माजीलाई त केही भन्न सकेनन् । तर, आफू सभामा आउँदा भगवान् शंकरले उठेर स्वागत नगरेको भन्दै रिसले चुर भएर सबैभन्दा पहिले आफ्नै ज्वाईं शंकरलाई मनपरी गाली गरेको र श्राप दिएको प्रसंग पुराणादी ग्रन्थहरूमा पढ्न पाइन्छ ।
दक्षमा जागेको त्यही अभिमानले गर्दा कत्रो तहसनहस भयो । अभिमानका कारण दक्षले आफ्नै ज्वाईंको अपमान गरे । थप अपमान गर्नकै लागि घरमा वाजपेय यज्ञ आयोजना गरे । सारा देवतालाई बोलाए, मात्रै छोरी–ज्वाईं (शिव–सती) लाई बोलाएनन् । पिताले नबोलाए पनि जानुपर्ने कर्तव्य ठानेर भगवान् शंकरकी पत्नी सती माइत गइन् तर दक्षले छोरीको पनि अपमान गरे । ज्वाईंविरुद्ध मनपरी बोले । पिताले आफ्ना पतिलाई गरेको अपमान सहन नसकेर सतीले दक्षको यज्ञस्थलमै देहत्याग गरिन् ।
यो समाचार नारदजीले भगवान् शंकरसम्म पु¥याउनुभयो । भगवान् शंकरलाई क्रोध आयो । शंकरजीले दक्षको यज्ञ विध्वंश गर्न र दक्षलाई मार्न वीरभद्रलाई आदेश दिएर पठाउनुभयो । भयंकर युद्ध भयो । शंकरका गणहरूले दक्ष प्रजापतिको घाँटी चुँडाएर मारिदिए । दक्षकी पत्नीलगायतले अनेक स्तुति गरेर भगवान् शंकरलाई प्रसन्न गरेपछि एउटा बोकाको टाउको लगाएर दक्षलाई ज्युँदो बनाइयो । र, केही वर्षसम्म दक्ष प्रजापति बोकाको टाउको लिएर जिउन बाध्य भए । पछि त्यो शरीर छुटिसकेपछि उनी प्रचेताको पुत्र भएर जन्मिए ।
पत्नी सतीले यज्ञस्थलमा शरीर त्यागेपछि शंकर भगवान् विक्षिप्त बन्नुभयो । पत्नीको मृत शरीर काँधमा बोकेर अनेक वर्षसम्म भौंतारिनुभयो । सतीका अंगहरू कुहिएर पृथ्वीका अनेक भागमा खस्न थाले । र, जहाँजहाँ अंगहरू पतन भए, त्यहाँत्यहाँ पीठहरू स्थापना भए भनेर हामीले स्वस्थानी व्रतकथामा पनि पढेकै छौँ । दक्षको अभिमानले यतिसम्म भएको थियो । तिनै सती पछि हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा जन्मिएकी हुन् ।
पौराणिक इतिहास हेर्ने हो भने मर्यादा पुरुषोत्तम रामले, लीला पुरुषोत्तम श्रीकृष्णले र रामभक्त हनुमानले पनि थुप्रै पात्रहरूका अभिमान नष्ट गरिदिएका छन् । इन्द्र, वरुण, कुवेर, कामदेवलगायतको अभिमानका कथाले इतिहास र पुराणहरू भरिएका छन् । भागवतमा श्रीकृष्णले ब्रह्मा, इन्द्र र कामदेवको अभिमान नष्ट गरेको कथा भेटिन्छ । हनुमानले अर्जुनको र भीमको मात्रै होइन, श्रीकृष्णका दाजु बलरामको र श्रीकृष्णकी पत्नी सत्यभामाको पनि अभिमान तोडेका थिए ।
महाभारत युद्ध सकिएर सिंहासनमा बसेपछि धर्मराज युधिष्ठिरलाईसमेत अभिमान आएको थियो भने यो कलियुगमा नेपाल देशको प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीमा अभिमान आउनु सामान्य कुरा नै हो । तर, उनीभित्र बढेको अभिमानको पारोचाहिँ सामान्य छैन । ब्रह्मा, इन्द्र, वरुण, कामदेव, बलराम, अर्जुनहरूको अभिमान नष्ट गर्न त श्रीकृष्ण र हनुमानहरू थिए । अभिमान नष्ट भएपछि उनीहरू विनम्र भएर बसे । तर, यो देशको प्रधानमन्त्रीको कुर्सीमा चौथो पटक विराजमान खड्गप्रसाद ओलीको वर्षौंदेखि छिप्पिएको अभिमानचाहिँ कसले नष्ट गर्ला ?
बानी त परिवर्तन गर्न सकिन्छ,स्वभाव फेरिँदैन । भोट माग्न मात्र झापा पुग्ने नेतालाई हल्लाको भरमा झापाली भन्ने ? हामी सबै झापालीले गफाडी र फटाहाको ट्याग भिर्नुपर्ने ?
आफू वर्षौंसम्म जेल बसेको, नाफाको जिन्दगी जिएको, देशका लागि केही गर्नकै लागि बाँचेको, भ्रष्टाचार पटक्कै नगर्ने र गर्न पनि नदिनेलगायतका केही सीमित वाक्य ओलीले यसअघि पनि तीन पटक प्रधानमन्त्री हुँदा तेहो¥याएकै थिए । ‘देश बनाउनका लागि अत्यन्तै दृढ छु, कृतसंकल्पित छु, चिन्तनशील छु, मेरो प्रतिबद्धता कठोर छ ।’ उनले सधैं भन्ने यही नै हो ।
तर, सत्यचाहिँ के हो भने एमालेको अध्यक्ष बनिसकेपछि ओलीमा जागेको अभिमानका कारण देशले थुप्रै क्षति बेहोरेको छ । २०७४ को निर्वाचनमा माओवादीसँग मिलेर झण्डै दुईतिहाइको बहुमत ल्याएपछि ओलीभित्रको अभिमान अझ मजबुत भयो । दोहो¥याइ–तेहे¥याइ पार्टी अध्यक्ष बन्न पाएपछि मैमत्ता झनै अकाशियो । माधव नेपाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुसालहरूलाई किनारा लगाएपछि अहिले पार्टीभित्र ‘मौरीको रानो’ भएका छन् ।
हावादारी गफ दिन ओलीलाई कसैले भेट्दैन । योचाहिँ फेरि उनको बानी होइन, स्वभाव रहेछ । बानी त परिवर्तन गर्न सकिन्छ, स्वभाव फेरिँदैन । स्वभाव जन्मजात हुन्छ । सानैदेखि छोरो गफाडी भएको उनकै पिताले केही अन्तर्वार्ताहरूमा भनेका छन् । एकजना नेता छन्, राधाकृष्ण मैनाली । उनी लामो समय ओलीसँगै जेल बसेका नेता हुन् । जेलमा ओली बिरामी हुँदा स्याहार–चाकर गरेका थिए मैनालीले । प्रायः अन्तर्वार्तामा मैनालीले भनेका पनि छन्– ‘मैले नछामेको ओलीको कुनै पनि अंग छैन ।’ उनी ओलीलाई त्यति नजिकबाट जान्दछन् ।
मैनालीले पनि धेरैपटक भनेका छन् ओलीको हावादारी गफका प्रसंगहरू । ओली सानैदेखि यस्तै नै थिए । चाँडै जेल परे । पार्टीमा मदन भण्डारीको दर्बिलो कमाण्ड थियो । मदनले ओलीलाई फिटिक्कै मन पराउँदैन थिए । पछि माधव नेपालले वर्षौंसम्म पार्टी चलाए । माधव नेपालको हातमा पार्टी रहेसम्म ओली अगाडि आउन पाएनन् । पछि गुट चलाउन थालेर माधवबाट पीडित नेताको संरक्षक बन्दै बिस्तारै उदाए । अध्यक्ष बनिसकेपछि आफूलाई मन नपर्ने अनुहारहरूलाई एकएक गर्दै पन्छाइदिए । अब ओलीलाई कसले के भन्ने ? कसले सुझाव दिने ? न उनी कसैले भनेको सुन्छन्, न त सुझाव नै लिन्छन् ।
अब ओलीका केही हावादारी भाषणहरू स्मरण गरौं ।
– २०७६ सालभित्र नेपालको पानीजहाजले झण्डा हालेर कसरी सामान बोकी हिँड्छ, कसरी मान्छे बोकी हिँड्छ, देखाउँछौँ ।
– गैंडा अमेरिकामा जन्मिँदैन, युगाण्डामा जन्मिँदैन, अष्ट्रेलियामा जन्मिँदैन । गैंडा हेर्नलाई सबैले यहीँ (नेपालमै) आउनुपर्छ । जिन्दगीमा एकपल्ट गैंडा हेरेन भने जतिसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैंडै देख्या छैन भने त्यसको आधा जिन्दगी त त्यसै गयो ।
– रेल आउँछ, पानीजहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउण्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ ।
– अबदेखि सिलिण्डर काँधमा बोकेर, साइकलमा बोकेर, मोटरसाइकलमा बोकेर कुद्नु पर्दैन । सिलिण्डरको खेल समाप्त गर्दिन्छु, घरघरमा–चुलाचुलामा पाइप पुर्याइदिन्छु । एउटा मीटर टाँसेर राखिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुहोस् । पिटिक्क खोल्दाखेरी चुलामा आगो बल्छ ।
– अब डिजेलको भुरुरुरुरुरु ध्वाँ छोड्ने बस होइन, इलेक्ट्रिक बस चलाउनु पर्छ ।
– बीपी कोइराला अहिले बाँच्नुभएको भए कांग्रेस छोडेर एमालेमा आउनु हुन्थ्यो ।
– अब केरुङ–काठमाडौं, काठमाडौं–पोखरा रेल आउँछ । पोखरा रेल आइसकेपछि बेनीसम्मको रेलका लागि त केही भन्नुपर्लाजस्तै लाग्दैन मलाई । पोखरा रेल आएपछि बेनी जाँदैन ? बेनी जाँदा कहाँबाट जान्छ, कुस्मा हुनु परेन ? कुस्मा त स्टेशन नै हुन्छ ।
यी भाषणहरू हेर्दा अहिले हामीलाई लाज हुन्छ । तर, स्वयं ओलीलाई किन लज्जा नभएको ? अभिमानकै कारण होइन ? जे बोल्दा पनि हुन्छ नेताले ? उनका यस्ता हावादारी भाषणमा ताली ठोक्दै हाँस्ने कार्यकर्ताहरू चाहिँ कस्ता ? आजको नेपाल त ओलीको हातमा छ, देशको हालत हामीले भोगेकै छौँ । भोलिको नेपाल ओलीका कार्यकर्ताको हातमा जान्छ, हाम्रा छोराछोरीको के हालत होला ? नीति बनाउनमा, काम गर्नमा, कानुन कार्यान्वयनमा भन्दा गफमा र कार्यकर्तालाई पद बाँड्नमा लिप्न मान्छेलाई भोट दिने हामी कस्ता जनता ?
देश अहिले कस्तो हालतमा छ, एउटा सानो उदाहरण नै पर्याप्त छ । मैले मेरो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न दिएको १८ महिना भयो । २३ फेब्रुअरी २०२३ को नगदी रसिद गोजीमै छ । अहिलेसम्म लाइसेन्सको कार्ड छापिएर आएको छैन । जुन देशमा नागरिकको एउटा परिचयपत्र डेढ वर्षमा पनि छापिँदैन, त्यो देशको हालत कस्तो छ, अरु कुनै उदाहरण चाहिन्छ र ?
यी नेता सत्तामा किन जान्छन् ? मात्रै गफ दिन ? दुनियाँलाई हँसाउन मात्र हो ? देश त खोक्रो भइसक्यो । भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ मुलुक । प्रधानमन्त्रीको गफले मात्रै देश चल्दैन । यस्ता नेतालाई बारम्बार जिताउने मतदाता चाहिँ कस्ता ? गल्ती भोट दिनेकै होइन र ? गल्ती झापालीकै होइन र ? झापालीहरू जाली र फटाहा हुन्छन् भन्ने भ्रम ओलीकै कारण फैलिएको होइन र ?
एउटा कुराचाहिँ आज स्पष्ट पारौं– ओली झापाली होइनन् । ओली झापाली हुन् भन्ने भ्रममा नपर्नुहोला आजदेखि कोही पनि । उनी केही वर्ष झापामा बसेका मात्रै थिए कुनै बेला । झापामा जन्मेका पनि होइनन् । ओली तेह्रथुमको इवा गाउँमा जन्मिए । अहिले उनको घर देशको राजधानी शहरमा छ । मतदाता परिचयपत्र पनि झापाको छैन । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गर्छन् ओली । भोट माग्न मात्र झापा पुग्ने नेतालाई हल्लाको भरमा झापाली भन्ने ? अनि उनको कारण हामी सबै झापालीले गफाडी र फटाहाको ट्याग भिर्नुपर्ने हुन्छ त ?
केपी ओलीको अहम्कै कारण दुई–तिहाइको सरकार ढलेको केही वर्ष मात्रै हुँदैछ । उनकै अहम्का कारण माओवादी र एमाले अलगअलग भए । उनकै घमण्डका कारण माधव नेपालले छुट्टै पार्टी खोले । उनकै तुजुकका कारण संसद् विघटन भयो । उनकै अहङ्कारका कारण झण्डै मध्यावधि निर्वाचन भयो । यी सबै हुँदा पनि जनतामा किन सचेतना आइरहेको छैन ? कमजोरी नेतामा छ कि हामी मतदाता जनतामा ?
ओलीजस्तो गफाडी र अभिमानले भरिएको केन्द्रीयस्तरमा अर्को नेता छैन । यो पक्का हो । सत्तामा पुगेपछि उनले चाहेको हुनैपर्छ । उनलाई मन परेपछि पर्यो–पर्यो । मन नपरेपछि परेन–परेन । अहिले उनलाई उज्यालो नेपालका नायक कुलमान घिसिङ मन परिरहेको छैन । मन नपरेको त पहिलेदेखि नै हो । ओली अघिल्लो पटक प्रधानमन्त्री छँदा प्रचण्ड पनि साथमै भएकाले मात्रै कुलमानले सहज रूपमा काम गर्न पाएका थिए । अब प्रचण्ड प्रतिपक्षको कुर्सीमा छन् । कमजोर प्रतिपक्षी बनेका छन् । त्यसकारण सरकारको कुर्सीमा पुगिसक्दा कुलमानमाथि ओलीको कर्के नजर शुरु भइसक्यो । संसद्मा उभिएरै प्रधानमन्त्रीले कुलमानबारे झुटो कुरा फैलाइसके । प्राधिकरणमा कुलमानलाई ओलीले धेरै समय नराख्ने छनकहरू आइसकेका छन् । यही हो ओलीको शैली ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएर विवादित बनेकी आरजु राणा अहिले ओली सरकारको परराष्ट्रमन्त्री छिन् । त्यो प्रकरणको फाइल खोल्ने प्रहरी अधिकारी डिआइजी मनोज केसीको सरुवा भइसक्यो । उनले विशेष ब्युरोको इञ्चार्ज भएर दुई महिना मात्र काम गरे । दुई महिनामै सरुवा हुनुलाई सामान्य प्रक्रियाका रूपमा मात्रै बुझिदिनुपर्ने अरे हामीले चाहिँ । अहिले ओलीले आफूनिकट डिआइजीलाई ब्युरोमा ल्याइसके ।
अब गिरीबन्धुको नाम उच्चारण गर्ने छुट कसैलाई छैन । किनकि ओली सत्तामा छन् । प्रधानमन्त्रीलाई प्रश्न गर्ने छुट कसैलाई छैन । गफ हाँक्ने, हावादारी बोल्ने छुट केवल प्रधानमन्त्रीलाई छ । सदनमा उभिएर पानी पिउँदै घण्टौं भाषण दिने छुट ओलीलाई छ । आलोचना गर्ने छुट कसैलाई छैन । यो ओलीको शासन हो । ढुक्क हुनुहोस्, अबको चुनावसम्म कुनै फाइल खुल्ने छैनन् ।
यो देशमा सबै नेता खराब भन्ने पनि होइन । असल नियतका साथ जीवनलाई राजनीतिमा होमेका नेता पनि छन् । ओलीकै पार्टीभित्र पनि इमानदार नेता छन् । मेरो नजरमा ओलीको पार्टीभित्र गोकर्ण विष्ट एक असल नेता हुन् । कांग्रसभित्र चन्द्र भण्डारी असल छन् । राप्रपामा राजेन्द्र लिङ्देनको नियत सफा छ । यी असलहरूलाई खराबहरूले केही गर्न दिइरहेका छैनन् । खराबहरूको भीडभाडमा असलहरू हराउने चिन्ताचाहिँ छ । अब मुलुक बन्नका लागि एउटा राम्रै उथलपुथलको खाँचो छ । के त्यो उथलपुथल २०८४ को चुनावी परिणामले ल्याउला ?
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू