प्रधानमन्त्रीको घोषणापछि अर्को आशंका

प्रधानमन्त्रीको घोषणापछि अर्को आशंका

बोल्नु र त्यसको कार्यान्वयन नितान्त फरक कुरा हो । कोही बोल्छन् भने कोही काम गरेरै देखाउँछन् । मुलुकमा बोल्ने धेरै छन्, गर्ने थोरै । राजनीतिक दलका अधिकांश नेताहरु विभिन्न शैलीका भाषण गर्छन्, तर आफैंले बोलेका कुरा पूरा गर्दैनन् । सोही कारण नेताको बोलीप्रति आम सर्वसाधारणको विश्वास घट्दै गएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै एउटा अर्को नयाँ घोषणा गर्नुभएको छ । उहाँको सो घोषणाले समग्र मुलुकबासीको ध्यान खिचेको छ । आस्ति काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा उहाँले सडकमा बालबालिका रहने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभएको छ । बालबालिकाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने स्थिति हटाउने उहाँको प्रतिबद्धता छ । 

उहाँले भन्नुभयो, ‘बालबालिकाको स्याहारसुसार, अहिले यहाँहरुले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनुहुँदैन । खाते भएर रहनुहुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ । सरकारमा आउनेबित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौं ।’

सो घोषणापछि सर्वसाधारणमाझ प्रधानमन्त्री ओली पुनः एकपटक हाँसोको पात्र बन्ने खतरा देखिएको छ । अघिल्लो कार्यकालमा गरेको घोषणा पूरा नहुँदै त्यस्तै खालको अर्को उद्घोष गरेपछि उहाँको खिल्ली उडाइने सम्भावना बढेको हो । यसअघि उहाँले मुलुकका प्रमुख सडकलाई ‘मगन्तेमुक्त’ बनाउने घोषणा गर्नुभएको थियो । जुन हालसम्म अलपत्र छ । राजधानीको मुख्य सडकमा माग्नेहरुको बिगबिगी झन् बढेको पाइन्छ । 

शान्तिनगर, बानेश्वर, कोटेश्वर, रत्नपार्क, थापाथली, सिंहदरबार, गौशाला, सातदोबाटो, सूर्यविनायक, सल्लाघारी, सिर्जनानगरलगायतका धेरै स्थानमा दर्जनौं त्यस्ता मानिस छन् । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा झन् धेरै मगन्ते छन् । 

हात थाप्दै मागिरहेको दृश्य वास्तवमा निकै हृदयविदारक हुन्छ । कसैको गोडा नभएको र कसैले आँखा नदेख्ने उनीहरुले बिहान बेलुकी हातमुख जोर्नकै लागि अरुको अगाडि हात फैलाएका हुन् । सडकमा माग्ने अधिकांश मानिस सडकमै सुत्छन् । 

कसैले दिए खान्छन्, नत्र भोकभोकै बस्छन् । कतिपय महिला दुधे बालक बोकेर सडकमा माग्न बसेको देखिन्छ । यो दृश्यले सरकारलाई गिज्याइरहेको छ । सरकार नागरिकप्रतिको आफ्नो दायित्व पूरा गर्न चुकेको छ । नेपालको संविधानले हरेक नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको अधिकार सुनिश्चित गरेको छ । 

तर, सडकमा बस्नेलाई के संविधान, के अधिकार ? दुई छाक खान नपाएर सडकमा आएकाहरु अधिकार माग्न कहाँ जानु ? सरकारले सडकमा माग्न बस्नेहरुको व्यवस्थापन गरिने बताउने गरेको छ । यद्यपि, गर्न सकेको देखिँदैन ।

सडकमा माग्नेको संख्या कति छ भन्नेबारे सरकारसँग यकिन तथ्याङ्क छैन । प्रधानमन्त्री ओली आफूले गरेको पहिलेको घोषणा कार्यान्वयन गर्नुको साटो नयाँ घोषणा गरेर सस्तो लोकप्रियता कमाउन हौसिनुभएको हो कि भन्ने धेरैलाई परेको छ । सडक बालबालिका अन्त्य गर्ने प्रधानमन्त्रीको नयाँ घोषणा अलपत्र पर्ने त होइन ? भनेर अहिले नै प्रश्न उठाउन थालिएको छ। 

सडकमुक्त बालबालिका बनाउने, तर कसरी ? सरकारसँग कुनै योजना छैन । हचुवाको भरमा निर्णय गर्ने प्रवृत्तिले सरकारलाई लज्जित बनाएको छ । यता, प्रधानमन्त्री आफैंपनि विवादमा तानिनुभएको छ । फेरि पनि सर्वसाधारणलाई भ्रमित बनाउन खोजेको भन्दै उहाँको सर्वत्र आलोचना भइरहेको छ । 

घोषणापछि तात्यो सामाजिक सञ्जाल

बालबालिका फूलका कोपिलाजस्तै हुन् । उनीहरुलाई जति स्याहारसुसार गर्यो, त्यति राम्ररी फक्रिन्छन् । भोलि देश बनाउने आजका बालबालिका हुन् । तर, मुलुकमा बालबालिकाको अवस्था खासै राम्रो छैन । अधिकांश बालबालिका आफ्नो हकअधिकारबाट वञ्चित छन् । 

अशिक्षा, गरिबीलगायत कारणले बालबालिका सडकमा आइपुगेको जानकारहरु बताउँछन् । कतिपय बुवाआमा नभएका कारण सडकमा बस्न बाध्य भएका हुन् । सरकारले अनाथ बालबालिकाको व्यवस्थापन गर्ने उद्घोष गरेको यो पहिलोपटक होइन । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नयाँ मन्त्री आउनेबित्तिकै यस्तै बताउने गरिएको छ । तर, सडक बालबालिकाको संख्यामा कमी आउन सकेको छैन । कतिपय दुई–तीन वर्षका बालबालिकाहरु पनि सडकमा माग्न बसेको देखिन्छ । 

कतिपय गाडीको सिसा ढक्ढकाउँदै माग्छन् । प्रधानमन्त्री ओलीको एक वर्षमा सडक बालबालिकामुक्त राष्ट्र बनाउने घोषणा ‘करायो–करायो, कता हरायो’ भनेझैं नबनोस् भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुझाव दिएका छन् । 

दिप गिरी लेख्छन्,‘बोलेको कति पुरा गर्छन्, नेपाली नेताले भन्ने त देखिएकै छ नि ।’ सविना लामिछानेले भनेकी छन्,‘गफमा त सबै चिज अन्त्य गर्नुहुन्छ हजुरबुवा, रियल लाइफमा पनि गर्नुस् न ।’ गोविन्द बडाल भन्छन्,‘लाजको पसारो । हरेकपटक प्रधानमन्त्री हुँदा यही शब्द निस्किन्छ । तर, हरेक वर्ष दुईसय प्रतिशत सडक बालबालिका बढेका छन् दोषी को ? सरकार वा बालबालिका ?’ 

अर्कोले व्यङ्ग्य गर्दै लेखेका छन्,‘अनि भ्युटावर नि बनाउनुपर्यो । सडकमा बालबालिका छन् कि छैनन् भनेर हेर्न ।’

कसरी सडकमा आउँछन् बालबालिका ? 

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँका अनुसार बालबालिका सडकमा आउनुको पछाडि मुख्य तीन–चार वटा कारण देखिएको छ । घरझगडा, गरिबी, लागुऔषध सेवनलगायत मुख्य कारण भएको उनको भनाइ छ । २०७२ असोज २७ बाट हालसम्म दुई हजार ३०० सडक बालबालिकाको उद्धार गरिएको उनले जानकारी दिए । 

परिषद्ले उद्धार गरेका बालबालिकालाई अस्थायी संरक्षण केन्द्र, बाल गृह, मानव सेवा आश्रम पठाउने गरेको छ । कतिपयलाई अभिभावक खोजेर जिम्मा पनि लगाउने गरिएको छ । ‘हामीले बालबालिकाको उद्दार, संरक्षण र पुनर्मिलन गराउँदै आएका छौं । २०७२ असोज २७ बाट अहिलेसम्म दुई हजार ३०० सडक बालबालिकाको उद्धार गरेका छौं । धेरैलाई परिवारको जिम्मा लगाइसकेका छौं’,उनले भने । 

परिषद् सडक बालबालिकामुक्त राष्ट्र बनाउन प्रतिबद्ध रहेको उनले बताए । उनका अनुसार दुई प्रकारका सडक बालबालिका छन् । एउटा सडकमै बस्ने, अर्को दिउँसो मागेर राति घर जाने । मुलुकभर सातदेखि एक हजारको हाराहारीमा सडक बालबालिका रहेको अनुमान परिषद्को छ । त्यस्तै, काठमाडौंमा २५० को हाराहारीमा रहेको उनी बताउँछन् । 

काम अगाडि बढिसक्यो : मन्त्रालय 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता चन्द्रकला पौडेलले २०८२ असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र बनाउने बताइन् । त्यसका लागि कार्ययोजना तयार पारिसकेको उनले जानकारी दिइन् । हाल कार्ययोजनामाथि छलफल भइरहेको उनको भनाइ छ । 

‘क्याबिनेटको निर्णयानुसार एक वर्षमा सडक बालबालिकामुक्त राष्ट्र बनाएरै छोड्छौं । त्यसका लागि कार्ययोजना तयार भइसकेको छ । अहिले त्यसमाथि छलफल गरिरहेका छौं । हामीले सडक बालबालिकाको परिभाषा फेर्नुपर्ने देखेका छौं । कस्तो बालबालिकालाई सडक बालबालिका भन्ने ? यो विषयमा अध्ययन भइरहेको छ । कतिपय बिहान आएर माग्ने र राति घर जाने हुन्छन् । कतिपय सडकमै सुत्छन्’,उनले भनिन् ।

टिप्पणीहरू