'सरकारलाई खबरदारी गर्न सय दिन पर्खनुपर्छ भन्ने छैन'

'सरकारलाई खबरदारी गर्न सय दिन पर्खनुपर्छ भन्ने छैन'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारका मुद्दा सामसुम पार्ने खेलमा रहेको दाबी गर्नुभएको छ । 

आफू नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविन रोकेर सरकार भ्रष्टहरुको संरक्षणमा लागेको उहाँले बताउनुभयो । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै त्यस्तो धारणा राख्नुभएको हो । 

भ्रष्टाचारका विषयमा सरकारको रवैया यस्तै रहे माओवादीले सदन र सडकबाट प्रतिवाद गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको चेतावनी छ । अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रहमात्र गरिएको उल्लेख गर्दै उहाँले नसच्चिए आन्दोलन अघि बढाउने बताउनुभयो ।

पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको र त्यसैको बलमा जथाभावी गर्न खोजिएको अध्यक्ष प्रचण्डको आशंका छ । तर, दुई ठूला दलको सरकारले गलत कुरा चोख्याउन गर्ने क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने उहाँले बताउनुभयो। 

भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उहाँको दाबी छ । गलत कुराको खबरदारी गर्न सयदिन पर्खनुपर्छ भन्ने कतै नभएको प्रचण्डले स्पष्ट गर्नुभयो । 

अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादबारे पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एमालेका साथीहरुले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरुले राम्रोसँग ब्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो । विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जानेगरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरुलाई सचेत गराउन चाहन्छु ।'

 
माओवादी फुट्छ भन्ने हल्ला निराधार रहेको बताउँदै उहाँले पछिल्ला बैठकहरुमा खुला र स्पष्ट बहसले आशंका मेटिएको प्रष्ट पार्नुभयो । पार्टीलाई थप सुदृढ बनाउँदै सबै माओवादी धाराहरुलाई एकताबद्ध गर्ने काममा अघि बढेको प्रचण्डले जानकारी दिनुभयो । 

‘पार्टी फूट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मतरुपमा खारेज गरेको छ', उहाँले भन्नुभयो, ‘केही मानिसहरुले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन् । सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्णरुपमा अन्त्य भइसक्ने छ ।’

टिप्पणीहरू