प्रधानमन्त्रीज्यू !, अर्को कथा नहेरी प्रकाशहरू खोज्न मिल्दैन ?

प्रधानमन्त्रीज्यू !, अर्को कथा नहेरी प्रकाशहरू खोज्न मिल्दैन ?
सुन्नुहोस्

‘हेर्ने कथा’को पछिल्लो अंक 'हराएका वर्षहरु'ले प्रकाश तामाङ उर्फ काले मोक्तानको जीवनमा ठूलो परिवर्तन ल्यायो । गोर्खाको चुमभ्यालीबाट उनी घर (भोजपुर) फर्किइसके । ढिलै सही, साहुले प्रेमपूर्वक बिदा गरे । उनको नागरिकता बन्ने भयो । बैंक खाता खोलिने भयो । साढे तीन दशक वस्तुभाउको गोठालो गरेवापत एकमुष्ट १० लाख पाउने भए । उनको जीवनले एउटा लय समात्ने भयो ।
 

प्रकाशको कथाले समाजिक सञ्जालमा अझै चर्चा पाइरहेको छ । धेरैजसो भावुक छन् । तर, यो घटनाले नेपाली मिडिया, राज्य संरचना, वर्गीय खाडलमाथि गम्भीर प्रश्न उठाएको छ । अझै पनि बेखबर-बेठेगान भएर बाँच्न बाध्य हजारौँ 'प्रकाश'हरुको सवाल उठाएको छ । 

आँशु बेच्यो भन्ने आरोप

मूलधारका मिडिया शहर केन्द्रित छन् । ती मिडियामा मोफसल र ग्रामिण समुदायका कथाले खासै प्राथमिकता पाउंदैन । अर्कोतर्फ सञ्चारको नाममा च्याउ जसरी उम्रिएका यूटुब च्यानलहरुले पत्रकारिता क्षेत्रलाई जोखिममा पारेको सत्यलाई पनि नजरअन्दाज गर्न सकिदैन । त्यही भीडमा एउटा च्यानल छ, ‘हेर्ने कथा’ । जसले केही वर्षयता देशका विभिन्न जिल्लाहरुमा पुगेर 'अर्गानिक' कथा सम्प्रेषण गरिरहेको छ । त्यस्ता कथा, जुन बाहिर आएका थिएनन् । 

‘हेर्ने कथा’ले पछिल्लो अकं ‘हराएका वर्षहरु’मा प्रकाशको कथा प्रस्तुत गरेपछि धेरैले आँशु बेचेको आरोप लगाए । भावुकता बेचेर आम्दानीको मार्ग बनाएको टिप्पणी गरे । प्रकाशलाई परिवारसँग मिलन गराएपछि पनि उनी पुनः चुम भ्याली फर्किएको खबरले झन् अर्को तरंग पैदा गर्यो । केही मानवअधिकारकर्मी र बौद्धिकवर्गले यतिसम्म भने कि, ‘हेर्ने कथाले पोभर्टी पोर्न देखायो’ । 

पोभर्टी पोर्नको उद्धेश्य, निर्माण प्रक्रिया र पात्रहरु नै फरक हुन्छन् भन्ने कुरा कथित बुद्धिजीविहरुलाई थाहा हुनुपर्ने हो । निश्चित आम्दानीको उद्धेश्य राख्नु, मानिसको गरिबी र पीडालाई अतिरञ्जित गर्नु, कतिपय पात्र सुनियोजित रुपमा खडा गरिनु, र सामाग्री तयार भएपछि विभिन्न निकायमा सहयोगको हात फैलाउनु पोभर्टी पोर्न हो । अब हेर्न कथाले प्रकाशको वास्तविकता बाहिर ल्याउँदा कसरी पोभर्टी पोर्न भयो ? त्यो उनीहरु नै जानुन् । तर यो कथित बौद्धिकताले ग्रस्त भएकाहरुको साँघुरो तर्क शिवाय अरु केही होइन । 

‘हेर्ने कथा’ले योजनाबद्ध ढंगले प्रकाशको कथा तयार गरेको होइन । ‘फुन्जोको कथा’ निर्माण गर्दै-गर्दा प्रकाश संयोगले भेटिएका थिए । उनी बाटोमा भेटिएका हुन् । चौरीको गोठालो बस्दै गर्दा भेटिएका हुन् । हेर्ने कथा टिमले अन्जान मानिसहरुसँग परिचय गर्ने क्रममा भेटिएका हुन्, उनी । 

त्यसपछि प्रकाशको परिचय सोधेको हो । उमेर सोधेको हो । ठेगाना सोधेको हो । आफन्त र परिवार सोधेको हो । जुन, कुराहरुबाट प्रकाश बेखबर थिए । तीन दशकदेखि पहिचानविहीन भएर बाँचिरहेको एउटा मानिसले एउटा भिडियो कथा कार्यक्रमकै कारण परिवार भेट्यो । बा-आमा भेट्यो । दाजुभाई भेट्यो । समाज भेट्यो । मरिसक्यो भनेर सोचिएको सन्तानलाई वर्षौपछि आफन्तले भेटे । यी सबै कुरालाई ‘हेर्न कथा’ले भिडियोमा प्रस्तुत गर्यो । 

अब यहाँ कथित बुद्धिजीविले भनिदेउन् कि, प्रकाश के नक्कली पात्र हुन् ? उनले भेटेका बा-आमाहरु के सुनियोजित रुपमा निर्माण गरिएका क्यारेक्टर हुन् ? वर्षौपछि एउटा परिवारको पुनर्मिलन हुँदा उनीहरुको आँखाबाट खसेकोे आँशु के पानीको थोपा हो ? उनलाई काठमाडौँको जोरपाटीबाट एक हप्ता हिँडाएर चुमभ्याली पुर्याउने साहु काल्पनिक पात्र हुन् । वा, हेर्ने कथाले देखाएको कार्यक्रम एउटा दन्त्य कथा मात्रै हो ? अनि पोभर्टी पोर्न देखाएको दाबी कसरी गर्न सकिन्छ ? कृपया, यसमा ती वृद्धिजीविहरुले आत्मसमिक्षा गरुन् । 

अरु 'प्रकाश'हरु चाहीँ कहाँ छन् ? 

प्रकाशको कथा सार्वजनिक भएपछि दर्शकहरु भावुक भएर रुनु स्वाभाविक हो । त्यही भीडमा प्रधानमन्त्री केपी शर्मा ओली पनि थपिनुभयो । भिडियो हेरेपछि भावुक भएर आँशु आएको प्रतिक्रिया दिनुभयो । सहानुभूतिकै खातिर उहाँले प्रकाशलाई नागरिकता दिलाउने र खेती गर्नका लागि केही जग्गा उपलब्ध गराउने प्रतिवद्धता गर्नुभयो ।  

तर, एउटा प्रकाशको उद्धार गर्दैमा प्रधानमन्त्री ओलीलाई हजारौ 'प्रकाश'हरुको जिम्मेवारीबाट भने् उन्मुक्ति मिल्दैन । प्रकाश किन झापाबाट पैसा कमाउन (गलैँचा बुन्न) काठमाडौँ आए ? राज्य संरचना र वर्गीय खाडलको शिकार एउटै प्रकाशमात्र भएका छन् ? उनीजस्ता सानोमै घर छाडेर हिँडेका अरु प्रकाशहरु अहिले कहाँ छन् ? 

नेपाली भएर पनि नागरिकता पाउन नसकेका अरु प्रकाशहरुलाई नागरिकता दिनुपर्दैन ? प्रकाशजस्ता लाखौँ भूमिहीनहरुलाई न्याय दिने दायित्व राज्यको हो कि हैन ? के सरकार ‘हेर्न कथा’ले कुनै दिन प्रकाशको कथा बाहिर ल्याउला र सहयोग गरौँला भनेर बसेको थियो ? यी प्रश्नहरु जायज छन् भने प्रधानमन्त्री ओलीले समीक्षा गर्न जरुरी छ ।  

अर्कोकुरा, १० वर्षको उमेरमा प्रकाशलाई पैसा कमाउन काठमाडौँ आउनु र अहिले १८ वर्षका युवाहरु बेराजगारीले खाडीमा जानु उस्तै होइन ? यदि सरकारले चाह्यो भने, प्रकाशजस्तै सानोमै वेपत्ता भएका हजारौ युवाहरुको खोजी गर्नसक्छ । लाखौ भूमिहीनको पहिचान गरी न्याय दिनसक्छ । तर, प्रधानमन्त्रीलाई त्यसमा के चासो !  सायद फेरि अर्को प्रकाशको कथा सार्वजनिक भयो भने फेसबुकमा भावुक स्टाटस लेखेर सहयोगको घोषणा गर्ने प्रतीक्षा होला । 

 घटना विशेषमा अतिरिक्त चासो राखेर सहानुभूतिको व्यापार गर्नुभन्दा यौटै नीतिगत निर्णय गरेर सबै प्रकाशहरुलाई न्याय दिन सकिंदैन प्रधानमन्त्रीज्यू ?

टिप्पणीहरू