भ्रष्टाचारविरोधी अभियान जनतामा पुर्याउन कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध ऐतिहासिक काम गरेर रेकर्ड राखेको दाबी गर्नुभएको छ ।
पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई आज सुर्खेतमा सम्बोधन गर्दै उहाँले सरकारीस्तरमा थालिएको सुशासनको अभियान नेपालमै पहिलो भएको बताउनुभएको हो ।
‘सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल संकल्पसहित मेरो नेतृत्वको सरकार १९ महिनासम्म चल्यो', प्रचण्डले भन्नुभयो, ‘यी तिनवटै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए अझ मुख्यगरी सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित भएको छ ।’
भ्रष्टाचारका विभिन्न फाइल खोल्दै ललिता निवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरुले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याएको जनाउँदै उहाँले भन्नुभयो, 'यो चानचुने विषय थिएन ।’
‘यसबाट जनता उत्साहित हुँदै थिए तर दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतंक सिर्जना भयो', उहाँको दावी छ, 'पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो । त्यसकै परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घामजत्तिकै छर्लङ छ ।’
कांग्रेस-एमालेले नेतृत्व लिंदै गर्दा हारेर गएजस्तो र माओवादी सरकारबाट निस्कदा जितेर निस्केजस्तो माहोल बन्न पुगेको टिप्पणी गर्दै प्रचण्डले पार्टी र आन्दोलनका लागि ठूलो पूँजी भएको बताउनुभयो ।
माओवादीलाई कम्जोर बनाउन संविधानमाथि प्रहार गर्ने प्रयास भैरहेको जनाउँदै उहाँले नेता-कार्यकर्तालाई निर्देशन दिंदै भन्नुभयो– ‘यी सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउँदै अघि बढ्नुपर्नेछ, त्यसका लागि बलियो र एकताबद्ध पार्टीको आवश्यकता छ ।’
आफू नेतृत्वको सरकारले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा पनि उल्लेखनीय काम गरेको अध्यक्ष प्रचण्डको भनाई छ । मिटरब्याजको समस्या समाधान गरेको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशाको जागृत गरेको उहाँले स्पष्ट गर्नुभयो ।
सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिको एजेण्डा पनि स्थापित हुँदै गएको उल्लेख गर्दै प्रचण्डले अगाडि भन्नुभयो, ‘हामीले सरकारको नेतृत्व लिंदै गर्दा धेरैले हाम्रो अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरिरहेकाका थिए तर अर्थतन्त्र पुनरुत्थानका लागि लिइएका नीतिगत पहलका कारण अर्थतन्त्रमा देखिएका संकट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको छ ।’
आफ्नो नेतृत्वको सरकारले जलवायु परिवर्तनका मुद्दामा लिएको पहल पनि विश्वले हेर्न लायक बनेको उहाँले बताउनुभयो । यी लगायत त्यसबेला सरकारले थालेका सबै काम देश, पार्टी र आन्दोलनका पूँजी भएकाले अब यी एजेण्डालाई संस्थागत र सुदृढ गरेर लैजानुपर्नेमा उहाँलेजोड दिनुभयो ।
‘नेपालमा जे जति राजनीतिक परिवर्तन भएको छ, अधिकारबाट वञ्चित सबै समुदायलाई मूलधारमा ल्याउने गरी जसरी संविधान निर्माण गरिएको छ, यो माओवादी आन्दोलनकै उपलब्धि हो', अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘यो गौरवपूर्ण इतिहास र पटकपटक हामीले सरकारको नेतृत्व गर्दा उर्जा, सञ्चार, सुशासन, सामाजिक न्याय लगायतका क्षेत्रमा प्राप्त गरेका उपलब्धिको जगमा नै अब पार्टीलाई सुदृढ र बलियो बनाएर लैजान सकिने छ ।’
जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि प्रहार हुन थालेकाले अहिलेका चुनौतीको सामना गर्न सक्ने पार्टी निर्माण बनाउनुपर्ने जोड दिंदै उहाँले पदाधिकारीको मुख्य टिम नै सबै प्रदेशमा त्यहाँ कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सुझाव लिने नयाँ अभ्यास थालिएको उल्लेख गर्नुभयो । सबै प्रदेशबाट प्राप्त सुझावका आधारमा दस्तावेज तयार पारेर आगामी केन्द्रीय समिति बैठकमा पेश गरिने उहाँले जानकारी दिनुभयो ।
आजदेखि सुरु भएको कर्णाली प्रदशस्तरीय परामर्श बैठक भोलिसम्म चल्ने छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक गर्दै आएको छ ।
अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी पाँच प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।
टिप्पणीहरू