कुरा तेलमा स्वचालित मूल्य प्रणालीको,भाषा अर्कै प्रधानमन्त्रीको
नेपाल आयल निगमले गए रातिदेखि खाना पकाउने ग्याँसदेखि अरु सबै पेट्रोलियम पदार्थको भाउ घटेको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट हिजो साँझ प्राप्त नयाँ खरिद मूल्यअनुसार भाउ घटेर आएको जानकारीपछि निगमले गए राति १२ बजेदेखि नै पेट्रोल,डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ घटाएको छ ।
जसअनुसार काठमाडौं उपत्यका र वरपरका जिल्लामा पेट्रोलको भाउ प्रतिलिटिर दुई रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ तोकिएको छ । डिजेल र मटिट्तेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर १५४ कायम गरिएको छ ।
त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर ३७ घटाइएको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ३५ रुपैयाँ ११ पैसा बढेर आए पनि पुरानै मूल्य यथावत रहेको निगमको भनाई छ ।
तर,प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पेजमार्फत् पेट्रोलियम पदार्थको मूल्य घटाइएको उल्लेख गर्नुभएको छ । उहाँले भारतीय आयल कर्पोरेशनबाट नेपाल आयल निगमले खरिद गर्दा हुने स्वचालित प्रणालीबाट तोकिने प्रक्रिया उल्लेख नगरी सरकारकै पहलमा भाउ घटाइएको आशयले सामाजिक सञ्जालमा लेख्नुभएको देखिन्छ । स्वचालित प्रणाली भन्नाले उताबाट घटेर आएको बेलामा मूल्य घटाउने र बढेर आएको बेलामा बढाउने भन्ने हो ।
उहाँको स्टाटसमा न आयल निगमले भाउ घटाएको व्यहोरा उल्लेख छ न भारतीय आयल कर्पोरेशनबाट घाउ घटेर आएको भनिएको छ । निगमले स्वचालित मूल्य प्रणालीबाट पेट्रोलियम पदार्थको भाउ घटाएको कुरो पनि लेखिएको छैन ।
प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘भदौ १६ गतेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । पेट्रोलमा प्रतिलिटर रु. २ घटाई रु. १६३ बनाइएको छ भने डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर १५४ रुपैयाँ कायम भएको छ । यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ ।’ उहाँको स्टाटसमा न आयल निगमले भाउ घटाएको व्यहोरा उल्लेख छ न भारतीय आयल कर्पोरेशनबाट घाउ घटेर आएको भनिएको छ । निगमले स्वचालित मूल्य प्रणालीबाट पेट्रोलियम पदार्थको भाउ घटाएको कुरो पनि लेखिएको छैन ।
टिप्पणीहरू