टुँडिखेलको नाराबाजीपछि आफ्नै पार्टीको कार्यक्रममा पनि ओली अनुपस्थित
सुदूरपश्चिम प्रदेशमा मनाइने विशेष चाड गौरा पर्वको अवसरमा नेकपा एमालेले राजधानीमा सांस्कृतिक कार्यक्रम गरेको छ । सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम गरेर हिजो उक्त पर्व मनाएको हो ।
प्रमुख अतिथि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको थियो । तर,उहाँले अन्तिम समय कार्यक्रममा उपस्थित नहुने जानकारी दिनुभयो ।
भदौ १० गते प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा चर्को नाराबाजी भएको थियो । टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँ दुई जना पुग्नु भएपछि युवाहरुले ‘केपी चोर, देश छोड’,‘देउवा-मूर्दावाद’ लगायतका नारा लगाएका थिए ।
न गौरा खेल्न दिन्छन् । यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन् । यहाँ को–को त्यस्ता छन्,तिनीहरुलाई ठीक पार्नुपर्छ ।
नाराबाजीबीच सम्बोधन गर्नुभएका सभापति देउवाले मञ्चबाटै कार्यक्रम बिथोल्नेहरुलाई तह लगाउने बताउनुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभएको थियो,‘अर्काको कार्यक्रम बिथोल्नेलाई लाज छैन । बद्मासहरु ! न गौरा खेल्न दिन्छन् । यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन् । यहाँ को–को त्यस्ता छन्,तिनीहरुलाई ठीक पार्नुपर्छ !’
लगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लियो । उनीहरुलाई पक्राउ गरिएको विरोधमा सडकदेखि सदनसम्म विरोध भएपछि तीनै जनालाई धरौटीमा रिहा गरिएको छ । युवाहरुको विरोधपछि प्रधानमन्त्री ओली यस्ता खुल्ला कार्यक्रममा जान हच्किएको स्रोतको भनाइ छ ।
‘उहाँ कार्यक्रममा उपस्थित हुने तय भइसकेको थियो । सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको हो । तर,अन्तिममा उहाँ नआउने भएपछि प्रहरीहरु फर्किए । अस्ति टुँडिखेलको घटनापछि उहाँ केही सचेत हुनुभएझैं देखिएको छ ’,स्रोतले भन्यो ।
प्रधानमन्त्रीको साटो कार्यक्रममा महासचिव शंकर पोखरेल उपस्थित हुनुभएको स्रोतले जानकारी दियो । पोखरेल पनि केहीबेर बसेर निस्किनुभयो । स्रोत भन्छ,‘कार्यक्रममा उपस्थिति जनाउने त खचाखच थिए । शंकर पोखरेल ५ बजेतिर आउनुभएको थियो । फोटो खिच्ने काम भयो, कार्यक्रम सकियो ।’
टिप्पणीहरू