पूर्वसभामुख कृष्णबहादुर महराका छोरा प्रचण्डको साथ छाडी गुरुदेवतिर
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा निर्मल महरा क्षेत्रीले पार्टी छोडेका छन् । पार्टीभित्र सबैको असली रुप देखेको बताउँदै उनले पार्टी परित्याग गरेका हुन् ।
सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले पार्टीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको बताएका छन् । आफू गुरुदेवको शरणमा पुगेको उल्लेख गर्दै उनले अब उप्रान्त आफूलाई धेरै कष्ट नदिन पनि आग्रह गरेका छन् ।
"जन्मपछि आमा र बाबा मात्र चिनेँ,१४ देखि २५ वर्षसम्म क्रान्ति, युद्द हतियार र प्रचण्ड चिनेँ, त्यसपछि अलिकति यौवन प्रेम, माओवादी र परिवारको झल्को चिनेँ,अनि समाजमा प्रवेश गरेको मैले शान्ति,नागरिक समाज, जिम्मेवारी,दुश्मन र मित्र (दुवै) सबै पाएँ,मुख्य कुरा आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मज्जाको खेल चिनेँ,खासमा एकले अर्कोलाई प्रयोग गर्ने गज्जबको तिम्रो दिमाग चिनेँ !!!"
गुरुदेवसँगको तस्बिर सेयर गर्दै उनले लेखेका छन्,‘जन्मपछि आमा र बाबा मात्र चिनेँ,१४ देखि २५ वर्षसम्म क्रान्ति, युद्द हतियार र प्रचण्ड चिनेँ, त्यसपछि अलिकति यौवन प्रेम, माओवादी र परिवारको झल्को चिनेँ,अनि समाजमा प्रवेश गरेको मैले शान्ति,नागरिक समाज, जिम्मेवारी,दुश्मन र मित्र (दुवै) सबै पाएँ,मुख्य कुरा आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मज्जाको खेल चिनेँ,खासमा एकले अर्कोलाई प्रयोग गर्ने गज्जबको तिम्रो दिमाग चिनेँ !!!
अब म जय गुरुदेवको पछाडि,मलाई धेरै कष्ट दिने सोच नगर !! जय गुरुदेव ! नमो नारायण !!’
को हुन् महराका गुरु ?
निर्मलले गुरु मानेका व्यक्तिको नाम हो योगी प्रियव्रत अनिमेष । भारतको हरियाणाका उनले हाल ब्रह्मलीन भइसकेका देवनारायण पुरीलाई गुरु मानेर पढेका थिए । योगी प्रियव्रत अनिमेषले सुन्दर जीवनका लागि आध्यात्मिकतालाई मानव अस्तित्वको सचेत र स्वीकृत आधार बनाउनुपर्ने वकालत गर्दै आएका छन् ।
खास नाम महेन्द्र के हर्षित रहेका उनले सानै उमेरमा घर छाडेर देश यात्रा थालेका थिए। उनले सद्भाव र शान्ति पाउन भारतका कयौँ आश्रम र पूजास्थलको यात्रा गरेको बताएका छन् ।
त्यही क्रममा उनी सन् २०१५ मा हिमाचल प्रदेशको सोलनस्थित देवनारायण पुरीको सम्पर्कमा पुगेका थिए । जहाँ उनले शैव धर्म र सिद्धिको परम्पराबारे शिक्षा लिए । उनै देवनारायण पुरीले महेन्द्रको आध्यात्मिक नाम ‘प्रियव्रत’ राखिदिए । त्यहीँ रहँदा रहँदै उनले गुरुको दर्शन र साधनाबारे ज्ञान लिएपछि आफ्नो नाममा ‘अनिमेष’ (जागरूक र स्थिर) पनि थपेर प्रियव्रत अनिमेष राखे ।
प्रियव्रत अनिमेषले आदि शंकराचार्यको गुरु परम्परालाई पनि आफ्नो नयाँ मार्गका रुपमा अवलम्बन गरेका थिए । उनले युवावस्थामै आध्यात्मिकतातिर आफूलाई लगाएर फरक स्वरुपमा स्थापित गर्न सकेको बताउने गरेका छन् । अध्यात्मले जो-कसैलाई पनि बदल्न सक्ने उनको तर्क छ ।
सन् २०२० मा भारतको राजधानी नयाँ दिल्लीमा ओज फाउन्डेशन स्थापना गरेका उनले यसलाई आफ्नो ठूलो उपलब्धि भनेका थिए । त्यसपछि मानव एवम् राष्ट्र कल्याणका लाग भन्दै हरिद्वारमा भएको महाकुम्भका क्रममा शिव आव्हान अनुष्ठान गरे । उनले ऋषिकेशस्थित ‘नेचुरल भिले’रिसोर्टमा नवचण्डी यज्ञ पनि गरे ।
ओज फाउन्डेशनमार्फत् उनले आफ्नो प्रभाव बढाइरहेका छन् । ७ जुलाई, २०२४ मा आयोजित कार्यक्रममा फाउन्डेशनको सफलताको कहानी उनले सुनाएका थिए । त्यसबेला उनलाई ५० एकड जमिन दानस्वरुप मिलेको थियो । अब उनले त्यहाँ ज्योतिष विज्ञानसम्बन्धी विश्वविद्यालय बनाउने घोषणा गरेका छन् । त्यसका लागि असमको २ हजार एकड चिया बगान र हैदराबाद शहरबीचमा पनि जमिन लिएका छन् ।
टिप्पणीहरू