पदक जितेको भोलिपल्ट पूर्वराजाको विज्ञप्ति
पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
आज शाहका तर्फबाट संवाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख छ । अनेकौँ प्रतिकूलताका बाबजुद पलेशाले हासिल गरेको यो सफलताले राष्ट्रको गौरव बढाएको पूर्वराजाले महसुस गर्नुभएको छ ।
‘देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकूलताका बावजुद जुन सफलता हासिल गरेकी छन् यसले नेपाली खेलकुद इतिहासमै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरव बढाएको हामीले महसुस गरेका छौं’, विज्ञप्तिमा लेखिएको छ ।
पेरिस पारालिम्पिक– २०२४ मा हिजो भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकीC मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले कांस्य पदक जितेकी थिइन् । पदक हात पारेसँगै उनी नेपाली खेलकुद इतिहासमा कुनै पनि विश्व प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
पलेशाको कीर्तिमानी सफलताप्रति खुसि व्यक्त गर्दै प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतले हिजै बधाई तथा शुभकामना दिएका थिए ।
टिप्पणीहरू