रास्वपाबाट निकालिएका मुकुल ढकालद्वारा पुनर्बहालीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका डा. मुकुल ढकालले महामन्त्री र प्रवक्तामा पुनर्बहालीको माग राख्दै पुनरावेदन निवेदन दिएका छन् ।
आफूमाथिको कारवाही विधान विपरित रहेको दाबी गर्दै उनले त्यसलाई बदर गरी पुरानै जिम्मेवारीमा फर्काउन माग गरिएको निवेदन आज पुनरावेदन समितिमा दर्ता गरेका हुन् । ढकालको निवेदनमा स्पष्टीकरणको मौकासमेत नदिइ कारबाही गरिएको जिकिर गर्दै त्यो विधिसम्मत नरहेको उल्लेख गरिएको छ ।
सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएको भन्दै रास्वपाले शुरुमा उनलाई साधारण सदस्य रहने तर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो । तर, पार्टी नेतृत्वमाथि लाञ्छना लगाउन नछोडेको भन्दै असार २५ गते निलम्बनमा परेका ढकाललाई रास्वपाले भदौ ११ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो ।
ढकालले भने पार्टी विधानको धारा ५६ (४) अनुसार कारवाही उपर सफाइ दिने व्यवस्था गरिए पनि सभापति रवि लामिछानेले व्यक्तिगत प्रतिशोध राखी जर्बजस्ती निर्णय गरेको दाबी गरेका छन् । त्यस्तै, पार्टीको निर्णय अभिलेखबाट हटाइ साविककै पद र हैसियत (महामन्त्री, प्रवक्ता, केन्द्रिय सदस्य)मा रही काम गर्ने वातावरण तयार गर्न उनले माग गरेका छन् ।
सभापति लामिछानेलाई लक्षित गर्दै ढकालले भनेका छन्, 'एकातर्फ निर्णय चित्त नबुझे पुनरावेदन म्याद जारी गर्ने र अर्कोतर्फ निर्णय नै उपलब्ध नगराउने विरोधाभाष कार्यबाट निश्चित व्यक्तिहरुले मविरुद्ध व्यक्तिगत प्रतिशोध लिनेगरी पार्टीलाई दुरुपयोग गरेको स्पष्ट हुन्छ ।'
सभापतिमाथि लागेका आरोपहरुबारे प्रश्न गर्दा कारवाही गरिनु निरकुंशको उपज भएको ढकालको तर्क छ ।
'मैले पार्टी सभापतिबाट भए गरेका गैरकानुनी कार्य र उहाँविरुद्ध राज्यका विभिन्न निकायबाट भइरहेको अनुससन्धान, अदालतमा विचारधिन उहाँको दोहोरो पासपोर्ट प्रकरण, सहकारीको रकम ठगी र दुरुपयोग जस्ता विभिन्न कार्यहरुको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रुपमा मलाई लक्षित गरी विभिन्न कारवाहीहरु भइरहेका छ, भने मलाई पदमुक्त गर्नु पनि यसै विरोधको निरकुंश उपज हो', उनले भनेका छन् ।
टिप्पणीहरू