झारपात उखेल्ने मन्त्रालय चाहिएन: दीपक मनाङ्गे

झारपात उखेल्ने मन्त्रालय चाहिएन: दीपक मनाङ्गे
सुन्नुहोस्

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले राजीनामा दिएका छन् । मन्त्रालय हेरफेरमा चित्त नबुझेपछि उनले राजीनामा दिएका हुन् । 

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् राजीनामा दिएका हुन् ।

‘म काम गर्ने मान्छे हुँ । वन जंगलको त्यस्तो काम वनपालेले गरिहाल्छ नि !’

पोखरामा आज आयोजित एमालेका मन्त्रीहरूको शपथ समारोहबाट बाहिरिएपछि उनले राजीनामा पठाएका थिए । तपाईंले राजीनामा दिएको हो ? भनेर जनआस्थाले सोधेको जिज्ञासामा उनले भने, ‘यस्तो सरकारमा बस्नु छैन, राजीनामा दिएको छु । मुख्यमन्त्री बाहेक अब अरु मन्त्री बनिँदैन ।’

वन मन्त्रालयबारे उनले भनेका छन्, ‘मेरो काम तितेपाती र झारपात स्याहार्ने हो र ?’ उनले जनताको करलाई सरकारले तितेपाते र झारपात सोहर्नेमा प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन् । भने, ‘म काम गर्ने मान्छे हुँ । वन जंगलको त्यस्तो काम वनपालेले गरिहाल्छ नि !’

टिप्पणीहरू