सरकारका प्रवक्तालाई कम बोल्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री तथा सरकाका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई जिब्रोमा लगाम लगाउन निर्देशन दिनुभएको छ । उहाँले मन्त्री गुरुङलाई सरकारको प्रवक्तासमेत रहेकाले आगामी दिनमा अपाच्य शब्द नबोल्न र सकेसम्म कम बोल्न भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि एउटा कार्यक्रममा सहभागी मन्त्री गुरुङले स्वीकार्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले त्यो शब्द कुन सन्दर्भमा भनेको सोधेपछि मैले सन्दर्भ बताएँ । उहाँले त्यो त ठिकै हो, तर तपाईं जिम्मेवार र सरकारको प्रवक्ता रहेकाले बोल्दा ख्याल गर्नु, त्यस्ता शब्द नबोल्नु, लामो पनि नबोल्नु भनेर सचेत गराउनुभएको छ ।’
मन्त्री गुरुङ अस्ति एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको कार्यक्रममा नेपाल प्रहरीका प्रमुखको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिनुभएको हो । उहाँले संघीय निजामती ऐन र संघीय प्रहरी ऐन पारित गर्ने क्रममा अवरोध गरेको भन्दै प्रहरी प्रमुखको आलोचना गर्ने क्रममा जिब्रो थुत्ने शब्द चयन गर्नुभएको थियो ।
टिप्पणीहरू