बालेन र बडालबीच ‘साइबर वार’,प्रधानमन्त्री मौन

बालेन र बडालबीच ‘साइबर वार’,प्रधानमन्त्री मौन
सुन्नुहोस्

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र एमाले कार्यकर्ताबीच ‘साइबर वार’ चलिरहेको छ । झापाको गिरीबन्धु टि इस्टेटको जग्गा प्रकरण,बागमती करिडोर प्रकरणपछि अहिले लुम्बिनीकी एमाले सांसद रेखा शर्माकाे प्रकरणले सामाजिक सञ्जाल तताएको छ । 

सांसद शर्माले ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको बालेनको आरोप छ । तर एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने बालेनले भ्रम फैलाएर सांसद शर्मामाथि नै हिंसा गरेको दावी गरेका छन् । 

अस्ति साँझ बालेनले सांसद शर्माको तस्वीर सार्वजनिक गर्दै लेखेका थिए, ‘उहाँले ८ वर्षदेखि एक नाबालिकालाई बन्दी बनाएर घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रुपमा कुटपिट गर्दै आउनु भएको छ । महानगरले दुई महिनादेखि कारवाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन ।’ 

मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर सांसद शर्मालाई कहिले समाउने ? भनी प्रश्नसमेत गरेका थिए । ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सायद तपाईंको लागि सुशासनको अर्थ बालिकाको मृत्युपछि गोही आँशु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’ , उनकाे प्रश्न थियाे । 

यसको खण्डन गर्दै अनेरास्ववियु अध्यक्ष बडालले बालेनबाट भ्रम फैलाइएको दावी गरेका छन् । ‘कुनै कानुनविदले तपाईंले उठाएको विषय बालहिंसामा सरकारलाई सर्वोच्च अदालतले रेखा शर्मालाई समात्न आदेश दिएको प्रमाणसहित अगाडि ल्याउनुहोस्’, उनले भनेका छन्, ‘तपाईंले प्रमाण दिन नसकेको गलत विषय सञ्जालमा लेखेर कुनै महिलामाथि हिंसा र ज्यादती धेरै नबढाउनुहोस्।’

अध्यक्ष बडालसहित एमालेका अन्य नेताले पनि बालेनको विरोध गरिरहेका छन् । यद्यपि,बालेनले हिजै अर्को स्टाटस लेख्दै एमाले अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य ज्ञान दिन सुझाव दिएका थिए । 

आरोप प्रत्यारोपपछि अहिले बालेनको पहिलो स्टाटस फेसबुकबाट हटेको छ । बालेनले स्टाटस आफै हटाएका हुन् वा फेसबुकले हटाएकाे हाे,त्यो भने खुलेको छैन । फेसबुक सुरक्षा गाइडलाइनअनुसार कुनै फोटो/भिडियो वा स्टाटसमा धेरै रिपोर्ट पर्यो भने आफै डिलिट हुने प्रावधान छ । 

बालेनको दोश्रो स्टाटस भने हटेको छैन । जहाँ उनले भनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानबिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला।’

बालेन र अनेरास्ववियुबीच दोहोरी चलिरहेको बेला प्रधानमन्त्री ओली भने मौन देखिनुभएको छ । सांसद शर्माको बालशोषण प्रकरणमा  कुनै प्रतिक्रिया दिनुभएको छैन ।

टिप्पणीहरू