संसदमा जिब्रोको चर्चा, सञ्चारमन्त्रीलाई ब्रेक लगाउन काँग्रेसको आग्रह

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर संसदमा चर्को आलोचना भएको छ । मन्त्री गुरुङले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा नेपाल प्रहरीका प्रमुखको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । 

सोही अभिव्यक्तिलाई लिएर आजको प्रतिनिधिसभामा सांसदहरुले विरोध गरेका हुन् । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले मन्त्री गुरुङलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गरे । भने, ‘सञ्चारमन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो, मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस् ।’ 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि मन्त्रिपरिषद्का मन्त्रीलाई बोल्ने कला सिकाउन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘त्यही दल (एमाले) का अग्रजले सभ्यता सिकाउनु हुन अनुरोध छ, आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुस्’, उनले भने ।  

सांसद झाले ‘जिब्रो थुतिदिन्छु’ भन्ने कहाँको वाक स्वतन्त्रता हो ? भनेर प्रश्न समेत गरे । थपे, ‘प्रहरी संगठनका प्रमुखले संगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र हो ?’

टिप्पणीहरू