गैंडाकोटमा अध्ययनरत प्युठानका युवक बेपत्ता

गैंडाकोटमा अध्ययनरत प्युठानका युवक बेपत्ता
सुन्नुहोस्

अध्ययनका लागि पूर्वी नवलपरासी गएका २२ वर्षीय क्षितिज रोका क्षेत्री बेपत्ता भएका छन् । प्युठानको मल्लरानी गाउँपालिका–४ का क्षितिज गैंडाकोटमा रहेको हिमछायाँ कलेजमा बिएसएजी पढ्दै थिए ।

तेस्रो सेमेस्टरका उनी गत शुक्रबारदेखि बेपत्ता रहेको बताइएको छ । गैंडाकोटमा रहेको भाडाको कोठामा उनी एक्लै बस्दै आएका थिए । क्षितिज शुक्रबारदेखि कोठामा नबसेको उनका भाइ दिक्षितकुमार रोकाले जानकारी दिए ।

क्षितिजले मोबाइलसमेत साथमा लगेका छैनन् । कोठामा सबै सामान छाडेर बेपत्ता भएका उनले कागजमा छोटकरीमा भाइ र बुबासँगको केही कुरा लेखेर छाडेको तर के लेखेको भन्ने थाहा नभएको दिक्षितले बताए ।

‘कागजमा बुबा र मेरो लागि छोटोमा लेखेर राखिएको थियो रे । त्यो पनि प्रहरीले लगेर पढ्न पाइएको छैन’, उनले भने । दिक्षितकाअनुसार क्षितिजको घरमा केही विवाद भएको थिएन । केही दिनअघि भाइलाई क्षितिजले राम्रोसँग पढ्नुपर्छ भन्दै सम्झाएका थिए । अहिले उनको खोजीमा बुबा–आमा नै गैँडाकोट पुगेका छन् । 

प्रहरीमा निवेदन दिएर खोजीका लागि आग्रह गरेपनि बेपत्ता भएको पाँच दिनसम्म कुनै आधार प्रहरीले फेला पार्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवपरासी पूर्वका प्रहरी इन्स्पेक्टर सुदीप भण्डारीले घटनाका सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा जानकारी गराइएको बताए । सँगसँगै उनको खोजी भइरहेको पनि जानकारी दिए ।

टिप्पणीहरू