रातभरको कमाल, सामाजिक सञ्जालमा प्रधानमन्त्री र मेयरको हाल

रातभरको कमाल, सामाजिक सञ्जालमा प्रधानमन्त्री र मेयरको हाल
सुन्नुहोस्

जेन–जी पुस्ता निकै स्मार्ट देखिन्छ । नेपाली पनि विश्वव्यापी घटनाको प्रत्येक अपडेट हातमा लिएर बस्न थालेका छन् । खासगरी उनीहरु राजनीतिप्रति स्पष्ट दृष्टिकोण राख्न थालेका छन् । भलै, कतिपय राजनीतिज्ञले त्यसलाई काँचो दृष्टिकोणको रुपमा टिप्पणी गरेको पाइन्छ ।

राजनीतिक विश्लेषण गर्न लामो अनुभव र गम्भीर अध्ययन चाहिन्छ भन्ने भाष्य स्थापित छ । तर अहिलेको जेन–जी पुस्ता मौखिक राजनीति र विश्लेषणमा रत्तिभर चासो नभएको हाकाहाकी भन्छन् । उनीहरु ठोस एक्सन (काम) रुचाउँछन् । ठोस योजना र कार्यान्वयन चाहन्छन् । प्रविधिसँगै छलाङ मार्न चाहन्छन् । उनीहरुलाई बोध छ– समय गतिशील छ र सँगै हिँड्न नसकेपछि परिन्छ । यद्यपि, यो राम्रै पक्ष हो ।

इतिहास स्मरण गर्नका लागि मात्रै हो, भविष्यमा ब्याज खानको लागि हैन भन्ने आशयमा कुनै बेला हरिभक्त कटुवालले लेखेका थिए– ‘बा पाठशाला जान्न ! त्यहाँ इतिहास पढाइन्छ मरेका दिनहरुको ।’

सायद, अहिलेका युवा–पुस्ताको हकमा पनि यो लागु हुँदै गएको भन्न सकिन्छ । जेन–जीको बुझाई छ कि : इतिहासबारे जानकार हुने हो, तर इतिहासको कठालो समातेर सत्ता कब्जा गरिरहने होइन । 

शक्ति र स्वार्थको लागि सँधै सत्ताको दाउमा रहने वर्तमान राजनीतिक दलका नेताहरुप्रति युवा पुस्ता कति आक्रोशित छ ? त्यो प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चालिएको अभियानलाई हेरे पुग्छ । 

प्रधानमन्त्री ओलीले रातारात करिब ७० हजार शुभचिन्तक गुमाउनुभएको काठमाडौंका मेयर बालेन साह पक्षधरको दाबी छ । सूचना र अभिव्यक्ति स्वतन्त्रताको बलियो माध्यम मानिने फेसबुकमा उहाँलाई हिजो अपरान्हसम्म पछ्याउनेहरुको संख्या छ लाख ६२ हजार थियो । तर युवाहरुको ह्यासट्याग अभियानले रातारात उहाँलाई पछ्याउने ७० हजार शुभचिन्तकहरुले फलाे र अनफलाे गरे । र अहिले पाँच लाख ९५ हजार हाराहारी देखिन्छ । फलाे र अनफलाे गर्ने क्रम अझै जारी छ । 

तीव्र रुपमा अनफ्लो गर्न थालेपछि पार्टी महासचिव शंकर पोखरेललेसमेत अध्यक्ष ओलीको फेसबुक प्रोफाइल सेयर गरेका छन् । प्रधानमन्त्री ओलीले ह्वात्तै यति ठूलो संख्यामा शुभचिन्तक गुमाउनुको मुख्य कारण मेयर साह बनेका छन् । बालेनलाई पछ्याउने शुभचिन्तकहरु भने रातारात एक लाख बढेको देखाइएको छ । हिजोसम्म उनको फ्लोइङ २० लाख थियो भने यो समाचार तयार पार्दासम्म २१ लाखभन्दा बढी पुगेको छ ।

टिप्पणीहरू