मन्त्रीको बोली, सहकारी पीडितको आपत्ति, आन्दोलनको चेतावनी

मन्त्रीको बोली, सहकारी पीडितको आपत्ति, आन्दोलनको चेतावनी
सुन्नुहोस्

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पीडकको पक्षमा आवाज उठाएपछि सहकारी पीडितहरु आक्रोशित भएका छन् । हिजो राजधानीमा आयोजित सहकारी पत्रकार समाजको कार्यक्रममा मन्त्रीले सहकारी पीडितमाथि गम्भीर आरोप लगाएका थिए । 

बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनको दाबी छ । उनले भने,‘सहकारीका समस्या समाधानका लागि समस्याग्रस्त सहकारी समिति बनाएका छौं । छानबिन समितिको सुझावअनुसार सरकारले काम गर्छ । तर,फेरि पनि आन्दोलन भइरहेको छ । किन रहेछ भन्दा बैंकबाट ऋण लिएर बढी ब्याज लिन र नाफा कमाउन सहकारीमा राख्नेहरु आन्दोलनमा देखिएका छन् ।’

आफूलाई सम्पत्ति धेरै भएकाले सहकारीमा राखेको पनि उनले बताए । उनको उक्त तीतो सत्यवाला अभिव्यक्तिप्रति सहकारी पीडितहरुले घोर आपत्ति जनाएका छन् । पीडितहरुले मन्त्रीले सार्वजनिक रुपमा माफी मागेर पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । राजीनामा नदिएमा विशाल प्रदर्शन गरिने र त्यसबाट हुने क्षतिको जिम्मेवारी मन्त्रीले लिनुपर्ने सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अध्यक्ष कुशलव केसीको चेतावनी छ । 

उनले भने,‘मन्त्रीले एकदमै असंवेदनशील अभिव्यक्ति दिनुभएको छ । पीडितको घाउमा मल्हम लगाउनुको साटो उहाँले पीडकको पक्षमा बोल्नुभएको छ । उहाँको भनाइले तिमीहरुले पैसा फिर्ता पाउँदैनौं भन्ने बुझिएको छ । सो अभिव्यक्तिप्रति मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ र पदबाट राजीनामा दिनुपर्छ । उहाँले माफी मागेर राजीनामा दिनुभएन भने हामी विशाल आन्दोलन गर्छौं । र, त्यसबाट हुने क्षतिको जिम्मा उहाँ स्वयंले लिनुपर्छ ।’

काम गर्न नसकेपछि मन्त्रीले सो अभिव्यक्ति दिएको सहकारी पीडितहरुको ठम्याई छ । केसी भन्छन्,‘मन्त्रीले हामीसँग गर्नुभएको सम्झौता कार्यान्वयन गर्न सक्नुभएन् । मैले काम गर्न सकिनँ भन्न मिलेन् । त्यसैले सो अभिव्यक्ति दिनुभएको हो । उहाँले सम्झौता कार्यान्वयनमा गएको बताउनुभएको छ । कार्यान्वयनमा गएको भए त हामीलाई जानकारी हुनुपर्ने हो । मन्त्रीले मिडियालाई पनि भ्रममा पार्न खोज्नुभएको छ ।’

पटकपटक सम्झौता, कार्यान्वयनमा बेवास्ता 

२०१० सालमा सहकारी विभागको स्थापनापछि नेपालमा सहकारीको शुरुवात भएको हो । सहकारी त्यहाँभित्रकै सदस्यहरुको आफ्नो व्यवसाय हो । थोरै–थोरै बचत जम्मा गरेर साना व्यवसायलाई प्रवर्द्धन गर्नु सहकारी स्थापनाको उद्देश्य हो । तर, सहकारीका सञ्चालकले बाटो बिराउँदा लाखौं बचतकर्ताको बिल्लीबाठ भएको छ । 

बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको छ । सहकारीमा फुटपाथमा बसेर साग बेच्ने, अर्काको घरमा भाडा धुने, शौचालय सफा गर्नेदेखि लिएर घर खेत बेचेर राख्नेसम्मको पैसा फसेको छ । आफ्नो बचत फिर्ता माग्दै सहकारी पीडितले बारम्बार आन्दोलन गरिसकेका छन् । तर, सरकारले सम्झौता गर्ने र सहकारी पीडितलाई अल्मलाउने काम गर्दै आएको छ ।

तत्कालीन सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सहकारी पीडितसँग २०८० साउन १८ गते सात बुँदे सम्झौता गरेकी थिइन् । तर, सम्झौता कार्यान्वयनमा नआएपछि सहकारी पीडितले पुनः आन्दोलन गरे । सहकारीमन्त्री अधिकारीले आठ बुँदे सम्झौता गरेपछि सहकारी पीडितले आन्दोलन स्थगित गरे । ६ महिना बित्दा पनि सरकारले सम्झौता कार्यान्वयनमा चासो नदेखाएपछि सहकारी पीडितले शान्तिवाटिकामा आन्दोलन शुरु गरेका छन् । 

आन्दोलन थालेको आज १०५ दिन भइसकेको छ । १०१ औं दिनमा सहकारी पीडितले बृहत आन्दोलन गरेका थिए । आन्दोलनले चर्को रुप लिने देखेपछि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले बुधबारसम्म माग सम्बोधन हुने प्रतिबद्धता जनाए । त्यसपछि सहकारी पीडितले आन्दोलन स्थगित गरे । माग सम्बोधन गर्नुको साटो मन्त्रीबाट सो किसिमको अभिव्यक्ति आउनुले सहकारी पीडितलाई निराश बनाएको अध्यक्ष केसी बताउँछन् । 

‘हामीले १०१ औं दिनमा बृहत आन्दोलन गरेपछि रजिष्ट्रार घिमिरेले फोन गरेर बुधबारसम्म माग सम्बोधन गर्ने बताउनुभएको थियो । आज बिहीबार भइसक्यो, न माग सम्बोधन भयो न उहाँले हामीसँग कुनै छलफल नै गर्नुभयो । एकातिर सहकारी विभागका रजिष्ट्रार माग सम्बोधन गर्छौं भन्ने, अर्कोतिर मन्त्री त्यस्तो अभिव्यक्ति दिने । हामीलाई झुल्याउने काम मात्र भएको छ’,उनले भने ।

यो पनि...

सडकमा उत्रेका सबै सक्कली पीडित होइनन् : सहकारीमन्त्री

टिप्पणीहरू