सत्ताबाट हट्नासाथ युध्दको सम्झना

सत्ताबाट हट्नासाथ युध्दको सम्झना

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुर्सीबाट हटेलगत्तै सत्तारुढ दलका नेताहरुप्रति आक्रामक देखिन थाल्नु भएको छ । सधैं जसो सत्तामा रहेर करिब ९ वर्षपछि प्रतिपक्षमा पुगेपछि तनावमा आउनु स्वभाविक पनि हो । 

खासगरी दुई साताअघि एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभाको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की नै चल्यो । त्यसयता माओवादी अध्यक्ष प्रचण्डसहित पार्टीका नेताहरुले विभिन्न कार्यक्रममा सत्तारुढ दलका नेताहरुलाई संसदीय भाषा प्रयोग गर्न चेतावनीसहितको आग्रह गरिरहेका छन्।

 अध्यक्ष प्रचण्डले आज फेरि सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई अपमान गर्ने प्रयास गरिरहेको र  त्यसको लागि संघर्ष आवश्यक रहेको दोहोर्याउनु भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित सहिदद्वय सुरेश वाग्ले र भीमसेन पोख्रेलको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुप्रति सच्चा श्रदाञ्जली अर्पण गर्न एउटा नयाँ संघर्ष थाल्नुपर्ने बताउनु भएको हो। 

‘हामीले गरेको परिवर्तनकारी र बलिदानपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’,उहाँले भन्नुभयो, ‘जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ, त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प गर्नु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

प्रचण्डले १२ बुँदे समझदारी गर्दाताका आजको परिस्थितिको भविष्यवाणी गरिएको पनि स्मरण गर्नुभयो । अहिलेको राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै भन्नुभयो, ‘दलाल पुँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोसिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को सङ्घर्ष हुन्छ भनेका थियौँ, अबकाे राजनीतिक त्यतै जाँदै छ ।’

उहाँले कार्यकर्ताहरुलाई त्यसतर्फ सचेत गराउँदै थप्नुभयो, ‘दलाल पुँजीपति र नोकरशाहीहरुसँग सङ्घर्ष शुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा सङ्घर्ष अघि बढाउनैपर्छ ।’

अध्यक्ष प्रचण्डले गत बिहिबार पनि पेरिसडाँडाबाट संविधान विपरित बोल्ने सत्तारुढ दलका नेताहरुको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको असल्ली राउन्ड किक् चाँडै भेट्ने तर्क गर्दै भन्नुभएको थियो, ‘सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा,हत्या,आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ।’
 

टिप्पणीहरू