प्रधानमन्त्रीमाथि ज्ञानेन्द्रको आक्रोश : विश्वविद्यालय होइन, भ्यु टावर प्राथमिकतामा

प्रधानमन्त्रीमाथि ज्ञानेन्द्रको आक्रोश : विश्वविद्यालय होइन, भ्यु टावर प्राथमिकतामा
सुन्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसदमा आक्रोश पोखेका छन् । स्थापनाको १३ वर्षपछि विश्वविद्यालयले पहिलो पटक हिजो दीक्षान्त समारोह आयोजना गर्न लागिएकोमा अन्तिम अवस्थामा स्थगित भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको कारण दीक्षान्त समारोह सोही प्रसंगमा सांसद ज्ञानेन्द्र शाहीले तयारी पूरा भइसकेको कार्यक्रमको सम्पूूर्ण खर्च प्रधानमन्त्रीको नीजि सम्पतिबाट असुल गर्नुपर्ने बताएका छन् । आजको प्रतिनिधि सभामा बैठकमा उनले कार्यक्रमको लागि भनेर जुम्ला पुगेका अन्य अतिथिहरुले बिनासित्तिमा दुःख पाएको जनाए । 

प्रधानमन्त्री ओलीले झुठो बोलेको उनको जिकिर छ । आक्रोश पोख्दै भने, ‘ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमामा सहभागी हुन पूर्वको झापादेखी पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी जुम्ला गए । डा. सन्दुक रुइत जानु भो, हामी गयौं । स्वास्थ्य सचिव जानु भो । तर प्रधानमन्त्रीले लास्टमा भन्दिनु भो– म आउँदिन, पछि सार । यो हुकुमी शासन हो ? त्यहाँ भएको सबै खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुल गर्नुपर्छ । ल प्रधानमन्त्री बिरामी हुनु भो, हामी स्वीकार्छौं, मौसम खराब भो, त्यो पनि स्वीकार्छौं । तर उहाँको व्यस्तता रे, हुन त भ्यूटावर भएको भए दौडेर जानु हुन्थ्यो होला । विश्वविद्यालयमा उहाँ जानुहुन्न ।’

सांसद शाहीले अर्को प्रसंगमा कांग्रेस–एमालेको गठबन्धनलाई भ्रातृ संगठन सम्हाल्न पनि आग्रह गरे । कृषि वन तथा विज्ञान विद्यालयको अवस्था सुनाउँदै भने, ‘तपाईंहरु कांग्रेस–एमाले, आफ्नो भ्रातृ संगठनलाई सम्हाल्नुनस् । कि त भ्रातृ संगठन पनि नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस् । कृषि, वन तथा विज्ञान विद्यालय अलपत्र पारेका छन् ।’

टिप्पणीहरू