पूर्वमुख्यमन्त्रीको अनशन रोक्न कर्फ्यु आदेश
368 shares
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशनमा बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
कांग्रेस प्रदेश सभा सदस्यसमेत रहेका कार्कीले पत्रकार सम्मेलन गरेर आज अपराह्न ४ बजेदेखि प्रदेश सभा भवनअगाडि अनशन बस्ने घोषणा गरेका थिए । यसले सो क्षेत्रमा पर्नसक्ने सुरक्षा जोखिमलाई मध्यनजर प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विराटनगरलाई केन्द्रबिन्दु बनाइ हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलाई मध्यनजर गर्दै सुरक्षा समितिको निर्णयअनुसार आज अपराह्न ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको जानकारी दिए ।
जसअनुसार प्रदेश सभा क्षेत्र (देवकोटा चोकदेखि कोशी अस्पताल चोक), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर (रोडशेष चोकदेखि जतुवा चोक), मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, प्रदेश प्रमुखको कार्यालय र निवासको तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङ,डाँफे चोकदेखि पूर्व पनि कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाइएको छ ।
पूर्वमुख्यमन्त्री कार्कीले अस्ति (आइतबार) ९ बुँदे माग राख्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए । तर, सरकारले माग सम्बोधन गर्न कुनै प्रयास नगरेको भन्दै उनले अनशन बस्ने घोषणा गरेका हुन् ।
368 shares
टिप्पणीहरू