अनसनकारीलाई अरुको समर्थन, काँग्रेस पन्छियो

अनसनकारीलाई अरुको समर्थन, काँग्रेस पन्छियो

नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा काँग्रेस सांसद केदार कार्कीको आमरण अनसनप्रति ऐक्यबद्धता जनाएको छ । आज दिउँसो देवकोटा चोकस्थित अनसनस्थल पुगेर पार्टीको कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले समर्थन जनाएका हुन् । 

त्यसक्रममा उनले सरकारले जनताको विपक्षमा गरेको निर्णयबिरूद्ध कार्कीले थालेको अनसन जायज भएकाले आफ्नो पार्टीको तर्फबाट समर्थन रहेको स्पष्ट पारे । आफनो कार्यकालमा घोषणा भएका लोकप्रिय कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै असन्तुष्ट रहेका कार्की हिजोदेखि अनसनमा छन् । नेता राईले हिजोको प्रहरी हस्तक्षेपको पनि विरोध गरेका छन् ।

काँग्रेस महानगर समिति र मेयरको साथ 

नेपाली काँग्रेस विराटनगर महानगर समितिले पनि कार्कीको अनसनप्रति ऐक्यबद्धता जनाएको छ । सभापति दिपक चापागाईले आज विज्ञप्ति जारी गर्दै अनसन जायज भएको र पुनः प्रहरी दमन भए सँगसँगै आन्दोलनमा उत्रिने चेतावनी दिए । 

विराटनगर महानगरका मेयर तथा काँग्रेस मोरङका उपसभापति नागेश कोइरालाले पनि अनसनको समर्थन गरेका छन् । पूर्वमुख्यमन्त्री कार्की जनताको जायज माग लिएर अनसन बसेकोले आफू र पार्टीको पूर्ण साथ रहेको उनले बताए । हिजो अपरान्ह साढे ४ बजेदेखि कोशी प्रदेश सभाअगाडिको निषेधित क्षेत्रमा आमरण अनसन बसेका कार्कीलाई साँझ प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याइदिएको थियो । तर, आज बिहान पुनः फर्केर उनले अनसन जारी राखेका हुन् ।

काँग्रेसले कार्कीको जिम्मा नलिने   

यता, काँग्रेस संसदीय दलले भने कार्कीको अनसन व्यक्तिगत भएको बताएको छ । आज अनसनस्थलमा पुगेका संसदीय दलका नेता उद्धव थापाले पार्टीले अनसनको संस्थागत जिम्मेवारी नलिने प्रतिक्रिया दिए । अनसन बस्नुअघि कार्कीले  दलमा परामर्श नगरेकाले पार्टीले तत्कालै जिम्मा लिने अवस्था नरहेको उनको भनाई छ । 

नेता थापाले समस्या आइसकेकोले समाधानका लागि पहल थाल्ने बताएका छन । काँग्रेस सत्ता गठबन्धनमा भएपनि अझै सरकारमा सहभागी भइनसकेको उल्लेख गर्दै उनले सरकारमा सहभागिताबारे टुंगो लागेपछि मात्रै कार्कीले उठाएका विषयमा समाधान खोजिने स्पष्ट पारे । पूर्ववर्ती सरकारले ल्याएका कार्यक्रम र बजेट कटौती भएको हो वा होइन भन्नेबारे कार्यदल बनाएर छानबिन गराउनुपर्नेमा थापाको जोड छ ।

एमालेले भन्यो : नौटङकी 

सरकारको नेतृत्वकर्ता नेकपा एमालेले भने कार्कीको अनसनलाई नौटंकीको संज्ञा दिएको छ । आज प्रदेश सभा बैठकमा एमाले संसदीय दलको तर्फबाट बिशेष समय लिएर बोल्दै सांसद तिलचन पाठकले आमरण अनसनलाई अराजक, अनुशासनहीन र नौटङकीको संज्ञा दिँदै छानबिनको माग गरे । 
कार्कीको अनसन संसदीय मूल्य मान्यता विपरित मात्र नभएर जनतामा भ्रम पनि सृजना गराएकोले संसदीय विशेष समिति बनाएर छानबिन गर्न उनले मागसमेत गरेका छन् । सस्तो लोकप्रियताका लागि पूर्वमुख्यमन्त्रीले अराजक गतिविधि गरेको पाठकको आरोप छ । 

कार्की मुख्यमन्त्री हुँदा आफूलगायत धेरै सांसदले पेश गरेको बजेट प्रस्तुत भैसकेपछि संशोधन गर्दासमेत कोही अनसन नबसेको उनले स्मरण गराए ।

टिप्पणीहरू