फिल्म फ्लप, पूजा हिट : दयाहाङसँग कन्फ्ल्क्टि

फिल्म फ्लप, पूजा हिट : दयाहाङसँग कन्फ्ल्क्टि
सुन्नुहोस्

नाम होस्, बदनाम होस्, तर गुमानाम नहोस् ! यो कथनको पर्याय बनेकी छन् अभिनेत्री पूजा शर्मा । 

चलचित्र चलोस् या नचलोस्, तर उनी सँधै चर्चामा रहन्छिन् । पछिल्लो तीन महिनालाई हेर्ने हो भने चलचित्र वृत्तमा पूजा भाइरल बनेकी छन् । 

असार ७ गते पूजा अभिनित चलचित्र ‘दान्भी’ प्रदर्शन भयो । एक्सन जनरामा बनेको यो चलचित्रको प्रदर्शनअघि प्रचार–प्रसारमा निर्माताले पैसाको खोलो बगाए । तीन करोडमा बनेको भनिएको दान्भीलाई पूजाको लोकप्रियता देखेर विभिन्न सिनेमा हलहरुले पनि शुरुको दिन ‘प्राइम टाइम’मा उल्लेखनीय शो दिए । तर जब चलचित्र प्रदर्शन भयो, हलमा दर्शक देखिएनन् । 

सामान्यतयाः चलचित्र चल्नुमा कलाकारको लोकप्रियताले जति अर्थ राख्छ, त्यो भन्दा धेरै कन्टेन र अभिनयले राख्छ । जुन, ‘दान्भी’ मा देखिएन । 

सिनेमा हलहरुले बिजुलीको पैसासमेत नउठ्ने देखेपछि एक सातामै चलचित्रलाई पर्दाबाट उतारे । र, यसरी पूजाको स्टारडममा भर पर्दा निर्माताले करोडौँ डुबाएका हुन् । यद्यपि, पूजाले अन्तिम समयसम्म पनि ‘दान्भी’ले राम्रो आम्दानी गरिरहेको प्रतिक्रिया दिइरहिन् ।
चलचित्र ‘सतिदेवी’को प्रिमियरमा पूजाको पहिरनले अर्को चर्चा बटुल्यो । भदौ पहिलो साता कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजिक प्रिमियरमा उनको पहिरनमाथि कतिपय दर्शकले अन–द–स्पट टिप्पणी गरे– ‘दिदीको ढाडभरी पिम्पल आएको रहेछ, यो नांगै देखिने के कपडा लगाउनुभएको होला !’

पूजाको त्यो तस्बिर/भिडियो अहिले पनि समाजिक सञ्जालमा देख्न सकिन्छ । 

यतिबेला फेरि चलचित्रको ‘रावायण’को कारण उनी चर्चामा छिन् । फिल्म प्रदर्शनमा आइकन फ्लप भइसकेको छ । पूजा आफैंले चार करोडमा निर्माण गरेको रावायण प्रदर्शनमा आउनुअघि प्रचारको क्रममा भनेकी थिइन्, ‘यसको बजेटले सामान्य दुई वटा चलचित्र बनाउन सकिन्छ । खर्चमा कुनै सम्झौता गरेका छैनौं ।’

तर, पूजाको यो लगानी पनि बालुवामा पानी सावित भइसकेको छ । यद्यपि, अभिनेता पल शाह पनि मूख्य भूमिकामा रहेको कारण चलचित्रले लगानीसम्म उठाउँछ कि भन्ने चलचित्रकर्मीहरुको अनुमान थियो । जेलमुक्त भएपछि पलको यो नै पहिलो चलचित्र हो । यद्यपि जति अनुमान र प्रचार गरिए पनि चलचित्रले दर्शक तान्न भने सकेन । 

चलचित्र हेरिसकेका दर्शकले ‘रावायण’लाई दक्षिण भारतीय चलचित्रको नक्कल भनेका छन् । विशाल भेटवालले पलको श्रृंगारमा गतिलै टिप्पणी गरेका छन् । भनेका छन्, ‘रत्नपार्कमा किनेको नक्कली दाह्री लगाएर साउथमूभिको कपी गरेपछि फिल्म फ्लप मात्रै हैन, सुपर फ्लप हुन्छ । मेरो चार सय रुपैयाँ र तीन घण्टा बर्बाद भो !’

त्यसो त, ‘रावायण’ किन चल्न सकेन ? त्यसका पूरक कारणहरु अनेकौँ होलान् । तर, पूजालाई भने चलचित्रकर्मीहरुबाटै ‘रावायण’लाई बहिष्कार गरिएको भन्ने लागेको रहेछ । 

‘पछिल्लो समय दयाहाङ राई’ को चलचित्रले राम्रो कमाइरहेका छन्, तपाईंहरुको चलचित्रले लगानी समेत उठाउन सकिरहेका छैन, किन होला ?’, भन्ने एक पत्रकारको प्रश्नमा पूजाको जवाफ थियो, ‘उनीहरुको (दयाहाङ राई)को आफ्नै समुदाय छ । उनीहरुको चलचित्र आउँदा त्यो समुदाय नै मिलेर प्रचार गर्ने, फिल्म हेर्न जान्छन् । तर, हामी आर्यहरुमा त खुट्टा तानातान छ । कसैले सहयोग गर्दैन, उल्टै बहिष्कार गर्छन् ।’

पूजाको उक्त अभिव्यक्तिपछि एक दर्शकले लेखेका छन्, ‘दयाहाङ राईहरुलाई किन साझा निधि ठान्दैन देशले ? राजेश हमालदेखि प्रदिप खड्काहरुलाई मात्र देशको कलाकार भन्ने तर दयाहाङ्हरु कुनै समुदाय विशेषका मात्रै हुन् भन्ने मनोविज्ञान कसरी विकास हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो पूजा शर्माको तात्तातो विचार ।’

‘पूजाहरुलाई लाग्छ, हामी बाहेक अरु त देशव्यापी हुनै मिल्दैन । अरुहरु आए भने जबर्जस्ती घचेटिएर आउने हुन् । हामी त सदाबहार हौँ र हुनुपर्छ । चिन्तनको यो समस्या पूजा शर्माको व्यक्तिगत होइन, यो त सिंगो राज्यसत्ताको चरित्र हो । त्यसैले पूजालाई गाली गरेर टाउको नदुखाउनुस्’, उनको थप टिप्पणी छ ।

टिप्पणीहरू