प्रधानमन्त्री र बालेनले झोसेको आगोमा अर्कैको रोटी

प्रधानमन्त्री र बालेनले झोसेको आगोमा अर्कैको रोटी
सुन्नुहोस्

मान्छेका रहर पनि अनेकौं हुने !, दुई जनाबीचको जुहारीले पाएको चर्चा देखेर कसैलाई लाग्दो रहेछ– मसँग पनि कसैले जुहारी खेलोस्, मेरो पनि चर्चा होस् । 

कसलाई लाग्छ होला यस्तो ? उनीहरुलाई चिन्नुभन्दा पहिले यहाँ जुहारी खेल्न लालायित बनाउने प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिका मेयर बालेन साहको प्रसंग जोड्नुपर्ने हुन्छ । 

दुइवटा सरकारका प्रमुखबीच पछिल्लो समय बागमती करिडोरको विषयमा अदालतले गरेको निर्णयलाई लिएर विवाद चलिरहेको छ । सर्वोच्च अदालतले बागमती, विष्णुमतीसहित काठमाडौँ उपत्यकाका नदी किनारबाट थप २० मीटरभित्र संरचना निर्माणमा रोक लगाउन दिएको आदेश र त्यस सम्बन्धमा महानगरले जारी गरेको सूचनाप्रति कतिपय सरोकारवाला आक्रोशित छन् । 

तटीय क्षेत्रका स्थानीयले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर सर्वोच्चको फैसलामा पुनरावलोकनमा जान माग राख्दै ज्ञापनपत्रसमेत बझाइसकेका छन् । त्यतिबेला प्रधानमन्त्री ओलीले बालेनतर्फ इंगित गर्दै आक्रोशित स्थानीयलाई सहानुभूतिको तुरुप फाले ।  ‘पृष्ठभूमि नै नभएका केही भूँइफुट्टाहरुले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन खोजेको छन्, हामी सजग हुनुपर्छ’, प्रधानमन्त्रीले शालीन भाषामा यस्तो आक्रोश पोखेका थिए । 

आक्रोशित स्थानीयको नेतृत्व गरिरहेका छन्, सुमन सायमीले । उनकै अगुवाइमा केही दिनयता विभिन्न ठाउँमा धर्ना र विरोध प्रदर्शनका कार्यक्रम चलिरहेको छ । पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारकै पालामा सर्वोच्चले बागमती करिडोरको मुद्दामा फैसला सुनाएको आशयमा उनका अभिव्यक्तिहरु पनि आइरहेका छन् । सायमीका मेयर बालेनले सोही आदेशलाई अहिले कार्यान्वयनमा लैजान खोजेका हुन् । 

तर, बालेनले भने अस्ति सायमीसहितका स्थानीयलाई नयाँ ट्वीस्ट दिनेगरी समाजिक सञ्जालमा पुरानो सूचना सार्वजनिक गरे । सर्वोच्चले बागमती करिडोरको फैसला तीन वर्ष अगाडि (२०७६ साउन २०) गरेको भन्दै उनले त्यतिबेला पनि ओली नै प्रधानमन्त्री रहेको स्पष्ट पारेका छन् ।

विस्तृतमा खुलाएका छन्, ‘न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो । त्यतिबेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य ।’

प्रधानमन्त्री ओली र बालेनबीचको सामाजिक सञ्जालमा द्वन्द्व नयाँ होइन । एक साताअघि लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्माले एक नाबालिकालाई घरेलु कामदारमाथि हिंसा गरेको विषय सतहमा आएपछि यी दुई यसैगरी आमनेसामने भएका थिए । एमाले कार्यकर्ता र बालेनका समर्थकबीच यसैलाई लिएर ‘साइबर वार’नै चल्यो । जुन, अहिलेसम्म सेलाएको छैन । 

त्यसअघि पनि बालेनले सुकुम्बासी प्रकरण, गिरीबन्धु जग्गा प्रकरणलगायतका विषयमा बेलाबेला प्रधानमन्त्री ओलीमाथि चोटिलो प्रहार गरेका थिए । ओली र बालेनका आ–आफ्नै समूह छ । अनुभव र पदीय हिसाबले बालेनभन्दा ओली नै अग्रपंक्तिमा छन् । तर, अस्थिर राजनीति र नेताहरुको प्रवृत्तिसँग दिक्क बन्दै गएका युवापुस्तामा भने बालेनको लोकप्रियता माथि देखिन्छ । 

बर्बराएका दुई पात्र

प्रधानमन्त्री ओली र बालेनबीचको शीतयुद्ध चलिरहँदा छायाँमा परेका केही पात्र छन्, जो अनेकौँ बाहनामा मिडिया अटेन्सन पाउने प्रयासमा रहन्थे । तीमध्ये एक हुन्, धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ । उनी सामाजिक सञ्जालमा अन्टसन्ट लेखेर चर्चामा आएका पात्र हुन् । 

साम्पाङ पदीय मर्यादा र हैसियात बिर्सिएर कहिले घोक्रो फुलाएर नेताहरुलाई सराप्छन्, कहिले मन्त्रीहरुलाई तथानाम लेख्छन् । दिनमा कम्तीमा एक दर्जन स्टाटस लेख्नु उनको अर्को झुर बानी हो । कतिपय उनकै समर्थकले समेत दिक्क मान्दै लेख्न थालेका छन्, ‘हर्क दाइ, एक दिनभित्र फेसबुकमा लेख्ने स्टासहरु कापीमा लेखेर राख्नुस् क्या ! ह्याण्डराइटिङ त सुध्रिन्छ ।’

स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार भूमिकामा रहेको व्यक्तिले कुनै विषयमाथि टिप्पणी गर्नुअघि विषयवस्तुको अध्ययन गर्नुपर्नेमा हर्क जथाभावी लेखिदिन्छन् । अस्ति बालेनलाई जोडेर लेखिदिए, ‘बालेन र मलाई जेल हाल्नेसम्मको योजना छ रे उनेरुको !’
अब ‘उनेरु’ भनेको को हुन् ? किन जेल हाल्न लागेका हुन् ? को–कोलाई जेल हाल्न लागिएको हो ? उनले खुलाएका छैनन् । उनले प्रष्ट नखुलाउनुको कारण सायद आफूलाई बालेनको समर्थनमा उभ्याएर चर्चा बटुल्ने ‘स्टण्ट’ मात्रै होला ! 

त्यस्तै अर्का मिडिया सिकर छन्, दुर्गा प्रसाईं । आफूलाई नागरिक बचाउ अभियानको संयोजक बताउने उनी विवादास्पद मेडिकल व्यवसायी हुन् । उनको व्यवसाय र विवादको यहाँ चर्चा गरिसाध्य छैन । तर, उनले पनि मिडिया अटेन्सन र चर्चाका लागि कुनै कसर बाँकी राखेका छैनन् । 

केही महिनाअघि उनले आफ्नै खर्चमा खाडी मुलुकबाट नेपालीको शव ल्याएको दावी गर्दै पत्रकार सम्मेलन गरे । त्रिभुवन विमानस्थलमै पुगेका पत्रकारको भीडमा उनले राम्रैसँग गफ लगाए । तर, विचरा प्रसाईंको त्यो स्टन्ट एकदिन पनि टिकेन । भोलिपल्टै मृतकका आफन्तले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर शव प्रसाईको खर्चमा नभएर आफूहरुकै खर्चमा ल्याएको जानकारी गराए । यो एउटा उदाहरण मात्र हो । 

कुनै बेला प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डलाई एउटै डाइनिंग टेबलमा राखेर मार्सि चामलको भात खुवाएका र एमालेको केन्द्रीय सदस्यसम्म भएका उनी अचेल राजा फर्काउने अभियानमा छन् । उनको नागरिक बचाउ अभियानमा लागेका अभियन्ताहरु पनि क्रमशः साथ छोडेर अन्यत्र लागिरहेको देखिन्छ । 

पछिल्लो समय प्रसाईंको गफ र हर्कतसँग आजित भइसकेकाहरुले उनको अन्तर्वार्ता पनि सुन्न छाडेका छन् । यसो भएपछि उनको अन्तर्वार्ताहरुमा भ्युज कम आउनु समाजिक सञ्जालको गाइडलाइन नै हो । प्रसाईंले भने अर्को फण्डा निकाल्दै भने, ‘प्रधानमन्त्री ओलीको निर्देशमा प्रेस काउन्सिलले मैले अन्तर्वार्ता दिएका यूटुब च्यानलहरुमाथि अंकुश लगायो ।’
जबकि, यूटुब अहिलेसम्म काउन्सिलको क्षेत्राधिकारमै परेको छैन । बरु यूटुबका कन्टेनलाई नियमन गर्न दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयले आन्तरिक गृृहकार्य गरिरहेको छ । 

प्रसाईंले अस्ति एउटा लिंक सेयर गरेका छन् । जसको शीर्षक छ, ‘प्रसाईं र बालेनलाई पक्रिन काँग्रेससँग सहयोग माग्दै प्रधानमन्त्री ओली !’

उनी कहिलेकाहीँ आफूलाई सरकारबाट खतरा भएको पनि दावी गर्छन् । यो देशमा प्रसाईंका दुश्मन को को हुन् ? उनलाई कोबाट खतरा छ ? उनलाई के को खतरा छ ? त्यसको जवाफ उनले नै देलान् । तर, धेरैले भन्न थालेका छन्, ‘यो सबै जनताको नजरमा मिडिया अटेन्सनका लागि आयोजित एक फण्डा शिवाय अरु केही हैन ।’

प्रसाईंले शेयर गरेका अर्काइभहरुलाई आधार मान्ने हो भने, जो कोहीले पनि एउटा दृश्यको कल्पना गर्न सक्छ । जस्तो, प्रधानमन्त्री ओलीले कारणवशः एकदिन बालेनलाई पक्राउ गर्न निर्देशन दिनेछन् । त्यो बेला प्रसाईंलाई पनि बालेनसँग समातिने चाहना जाग्नेछ । किनकि, बालेन पक्राउको चर्चाले केही हदसम्म उनी पनि चर्चाको पात्र बन्नेछन् । 

अनि बालेनसँगै प्रसाईं पक्राउ पर्नेछन् । एक हप्तापछि उनी छुट्नेछन् । दुई चार जनाले सहानुभूति दिनेछन् । दुई चार वटा मिडियाले अन्तर्वार्ता लिनेछन् । र भोलिपल्टबाट उनले सगौरव भन्नेछन्, ‘म यो देशको लागि जेल गएँ ।’

तर, जनता चाहन्छन्, ‘यो कल्पना, कल्पनामै सीमित रहोस् ।

टिप्पणीहरू