मान्यको अस्पतालमा बिरामीलाई छैन ‘प्रेसक्रिप्सन’

मान्यको अस्पतालमा बिरामीलाई छैन ‘प्रेसक्रिप्सन’
सुन्नुहोस्

नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति, उसैको भक्ति ।’ कांग्रेस सांसद डा. सुनील शर्माको अस्पतालले दिनदहाडै हजारौं बिरामीलाई लुटिरहेको छ । तर, नियामक निकाय भने बेखबर । 

डा. शर्माको काठमाडौं मेडिकल कलेज (केएमसी) सञ्चालनमा आएको लामो समय भइसकेको छ । सन् १९९७ मा स्थापित सो अस्पतालले आफ्नै फार्मेसीबाट औषधि किन्नुपर्ने नियम लागू गरेको छ । बिरामीका आफन्तले बाहिरबाट औषधि ल्याउँछु भन्दा पाउँदैनन् । चिकित्सकले ‘प्रेसक्रिप्सन’ नै दिन मान्दैनन् । उनीहरूले औषधिको विवरण सीधै फार्मेसीको इमेलमा पठाउँछन् । कुन–कुन औषधि हो ? भन्नेसम्म आफन्तलाई जानकारी दिँइदैन । हाल केएमसीमा सातवटा आईसीयू छ । जनरल बेड सधैं भरिभराउ नै हुन्छ । 

अस्पताल परिसरभित्रैबाट औषधि किन्नुपर्ने भएकाले फार्मेसीमा जतिबेला पनि भीड देखिन्छ । केएमसी परिसरमा सञ्चालित फार्मेसीले औषधिमा ठगेको धेरैको आरोप छ । त्यहाँ एक पत्ता फेल्कसनमा दुई रुपैयाँ बढी लिने गरिएको छ । १० ट्याब्लेट फेल्कसनको मूल्य १८ रुपैयाँ पर्छ । तर, अस्पतालको फार्मेसीले २० रुपैयाँ लिन्छ । जनआस्थासँग एक बिरामी कुरुवाले भने, ‘यहाँ दिनहुँ सयौं बिरामी आउँछन् । एक पत्ता फेल्कसनमा दुई रुपैयाँ बढी उठाउँछन् भने अरु औषधिमा कति कमाउलान् ? उनीहरूले औषधि दिन्छन्, कुरुवाहरू लिएर हिँड्छन् । कसैले मूल्य कति हो ? भनेर हेर्दैनन् ।’ 

अस्पतालको ल्याण्डलाइन नम्बर ४५९८५८३ मा सम्पर्क गर्दा एक महिला कर्मचारीले अस्पतालभित्रैबाट औषधि किन्नुपर्ने नियम नभएको दाबी गरिन् ।

मध्यपुर अस्पतालमा पनि त्यस्तै

भक्तपुरको थिमी नगरपालिकामा सञ्चालित मध्यपुर अस्पतालको कस्ने धन्दा बढेको भन्दै विरोध भइरहेको छ । बिरामीले ‘बाहिर गएर औषधि किन्छु’ भन्दा पाउँदैनन् । बाहिरको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट पाइने कुरुवाहरूको भनाइ छ । तर, अस्पतालले एक रुपैयाँ पनि छुट दिँदैन । त्यहाँ पनि केएमसीको जस्तै सिष्टम छ । कुरुवालाई कुन औषधि हो ? भन्ने जानकारी नै हुँदैन । चिकित्सकले सीधै फार्मेसीमा नै ‘प्रेसक्रिप्सन’ पठाइदिन्छन् । आफूलाई कुन–कुन औषधि दिइँदैछ ? थाहा पाउनु बिरामीको हक हो । एक कुरुवाले भने, ‘हामीलाई समेत नदेखाइकन प्रेसक्रिप्सन फार्मेसीमा पठाइने रहेछ । बिलचाँहि यति भयो भन्दै हातमा थमाइन्छ ।’ औषधिको ‘प्रेसक्रिप्सन’ नहुने भएकाले कति रुपैयाँ भयो भन्ने नै जानकारी नहुने उनीहरूको भनाइ छ ।

अस्पतालका अनुसार ‘एड्मिट’ भएका बिरामीले त्यहींबाट औषधि खरिद गर्नुपर्नेछ । विगतदेखि नै सो नियम भएको एक कर्मचारीले बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीले चाहेको ठाउँबाट औषधि खरिद गर्न पाउने जनाएको छ । प्रवक्ता डा. प्रकाश बुढाथोकीले बिरामीले अस्पतालकै फार्मेसीबाट लिनुपर्ने कुनै नियम नभएको बताए– ‘जुन फार्मेसीबाट लिए पनि हुन्छ । प्रेसक्रिप्सन मागेपछि अस्पतालले दिनैपर्छ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू