सरकार सफल हुँदै गरेको एमाले महासचिवकाे दावी
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको दावी गरेका छन् ।
सचिवालय बैठकपछि आज पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार सफलताको दिशामा उन्मुख रहेको बताउनुभएको हो । सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलबीच सहकार्यलाई अझ प्रभावकारी तुल्याउन प्रयास भैरहेको पनि पोखरेलले जानकारी दिए ।
‘सरकारको कामको समीक्षाको समय शुरु भएको छैन । यद्यपि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन रहेको छ’, उनले दावी गर्दै भने, ‘सरकारको कामलाई प्रभावकारी बनाउने सन्दर्भमा र खासगरी सत्ता पक्षमा रहेका राजनीतिक दलहरुको बीचको सहकार्यलाई अझ घनिष्ट बनाउने हिसावले संसद र सरकार दुवैलाई प्रभावकारी बनाउने हिसावले सत्तामा रहेका राजनीतिक दलहरुको बीचमा छलफल पनि आरम्भ भएको छ ।’
फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाबारे संसद र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरुलाई स्वीकार हुने बताए ।
टिप्पणीहरू