थप २० मीटर मापदण्डविरुद्धको आन्दोलनमा समर्थन बढ्दै

थप २० मीटर मापदण्डविरुद्धको आन्दोलनमा समर्थन बढ्दै

गैरन्यायिक खोला तथा सडकको मापदण्ड पीडित संघर्ष समिति र उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले काठमाडौँमा गर्न लागेको बृहत प्रदर्शनमा कंलकी–नागढुंगा सडक विस्तार पीडित संघर्ष समिति पनि जोडिएको छ । 
    

सडक र खोलाको मापदण्ड खारेजीको माग गर्दै घोषणा गरिएको दुई दिने आन्दोलनमा कंलकी–नागढुंगा सडक विस्तार पीडित संघर्ष समितिले एक्यबद्धता जनाउने निर्णय गरेको हो । भोलि ललितपुरको कुपण्डोलमा दिँउसो ४ बजेदेखि आन्दोलन थालिने जनाइएको छ । त्यसैगरी, असोज ३ गते बिहान १० बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने आयोजकले बताएको छ। 

सडक मापदण्डको नाममा स्वीकृतिबेगर मुआब्जा र क्षतिपूर्ति नदिई जग्गा रोक्का गर्दा आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ । तिरोतिरान गरिरहेको र हकभोगको सम्पत्ति रोक्का गरिदिँदा बैंकमा धितो राख्न नपाएको, समस्या पर्दा बेचबिखन गर्न नपाएको, अंशबण्डा गर्न नमिलेको उनीहरु बताउँछन् । 

जग्गा रोक्का गर्ने सरकारको निर्णय नेपालको संविधान, सर्वोच्च अदालतको पूर्ण इजलाशको निर्देशनात्मक आदेश, नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी अभिसन्धिविपरीत रहेकाले सो खारेज हुनुपर्ने उनीहरुको भनाइ छ । 

त्यस्तै, सरकारले संविधानले नागरिकलाई दिएको आवास तथा सम्पत्तिको हकबाट वञ्चित गराएको संघर्ष समितिको आरोप छ ।

टिप्पणीहरू