डिभीको आडमा छोरो युवती छान्दै, आमा सम्पत्ति स्याहार्दै

डिभीको आडमा छोरो युवती छान्दै, आमा सम्पत्ति स्याहार्दै

विवाह गरेको केही महिनामै डिभी परेर अमेरिका छिरेका श्रीमान् परस्त्रीसँग लागेको थाहा पाएपछि एउटी युवतीको मस्तिष्कले के सोच्छ ? यस्तै अवस्था लमजुङकी सिर्जना भण्डारीले व्यहोरेकी छन् । 

सन् २०२० मा विष्णुबहादुर बस्नेत र ती महिलाले अमेरिकामै सम्बन्धविच्छेद गरेको देखिन्छ । श्रीमान् अर्कीसँग लागेको थाहा पाएकी सिर्जनाको बेसीशहरको घरजग्गा आफ्नो र सासुको संयुक्त नाममा पास गरिदिनुपर्ने शर्तलाई विष्णुले हालसम्म स्वीकारेका छैनन् । 

जथाभावी सम्बन्ध राख्दै हिँडेका पुरुषले उल्टै आफ्नो गला र हातमा लगाएको सुनका गहना खोसेको उनी बताउँछिन् । आफूमाथि जबरजस्ती करणी गर्न खोजेपछि दिदीको घरमा गएर बसेको सिर्जनाको जिकिर छ । त्यहाँ पुगेरसमेत त्यस्तै रवैया देखाउन थालेपछि उनले प्रहरी कार्यालय गुहारेकी हुन् । 

यता आफूविरुद्ध जाहेरी परेकै रात विष्णु अमेरिका उडे । प्रहरीको रेकर्डमा उनी फरार देखिन्छन् । सिर्जनाले मानापाथी चामल भराईपाउँ भन्दै लमजुङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । आफूलाई सम्पत्ति दिनुपर्ने भएपछि सासु र उनका छोराले धमाधम सम्पत्ति बेच्न थालेपछि रोक्का गराएको सिर्जनाले बताइन् ।
भण्डारीले जनआस्थामा हालै प्रकाशित ‘अमेरिकाबाट फर्कनासाथ पतिलाई आपत’ र ‘करणी काण्ड त कति हुन् कति !’ शीर्षकको समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । पीडितलाई थप पीडा पुग्नेगरी समाचार प्रकाशित भएको सिर्जनाको भनाइ छ । 

राजीखुशी, सामाजिक रीतिरिवाजअनुसार बेसीशहर नगरपालिका–७ का विष्णुबहादुर बस्नेतसँग सात वर्षअघि लगनगाँठो कसेकी मर्स्याङ्दी गाउँपालिकाकी उनको दाम्पत्य जीवनबारे लेखिएको समाचारले आफ्नो भावनामा गम्भीर चोट पुगेको सिर्जनाले बताइन् ।

टिप्पणीहरू