महानायकको शरीर र सेतो दाह्रीको चर्चा

महानायकको शरीर र सेतो दाह्रीको चर्चा
सुन्नुहोस्

एक दशक हुन लाग्यो, महानायक राजेश हमाल चलचित्रमा देखिएका छैनन् । केहि वर्षयता विभिन्न टिभी शोमा व्यस्त उनी अहिले ‘यो नेपाली शीर उचाली’ कथा कार्यक्रममा आबद्ध छन् । जसमा देश–विदेशमा रहेका सफल व्यवसायीहरुको कथा प्रस्तुत गरिन्छ ।

नेपाली समाजमा महानायक हमालको कलाकारितासँगै बौद्धिकताको पनि उत्तिकै चर्चा हुने गर्छ । त्योभन्दा बढी चर्चा उनको शारीरिक सुगठनको हुने गरेको छ । उमेरले ६० वर्ष पुगेका हमाल नियमित व्यायाम गर्छन् । खानपान र दिनचर्यामा पनि निकै ध्यान दिएकाले यो उमेरमा पनि उनी त्यति बूढो देखिंदैनन् ।

महानायक हमाल बेलाबखत आफ्ना समर्थक/शुभचिन्तकहरुसँग प्रत्यक्ष भेटघाट गरिरहेका हुन्छन् । यसैबीच उनको एउटा भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । सेताम्मे दाह्रीको लुक्समा हिँड्दै दर्शकलाई सोधिरहेका छन्, ‘तपाईंहरुले राजेश हमालको सेतो दाह्री देख्नुभएको छ ?’

केही दर्शकले हाँस्दै भन्छन्, ‘फुलेको छ । देखिरहेका छौँ ।’ फेरि मजाक गर्दै सोध्छन्, ‘उसो भए एउटा कुरा भन्दिनुस्, यो दाह्री फुले पनि मेरो जवानी ग’को छ कि छैन ? ’

‘छैन, छैन । जवानी त गा’को छैन’, दर्शकहरु हाँस्दै जवाफ फर्काउँछन् । राजेशले एउटा गीत सम्झिन्छन्, ‘दाह्री फु्ल्यो वैँशमा...भन्ने गीत सुन्नु भएको छ ?’, ‘छ छ, तर तपाई बूढो भइसक्नुभयो’, एउटी महिलाले भन्छिन् । 

राजेशको यो कमेडी शैली देखेर दर्शक हाँस्छन् । र केहीले तस्बिर खिच्छन् ।

टिप्पणीहरू