पशुपन्छीलाई संक्रामक रोगबाट जोगाउने यस्ता उपाय

पशुपन्छीलाई संक्रामक रोगबाट जोगाउने यस्ता उपाय

पशु सेवा विभागले पशुपन्छीमा हुने संक्रामक रोग रोकथामका उपाय कृषकलाई बताएको छ । 

आज सूचना प्रकाशित गर्दै विभागले संक्रामक रोगको शंका लागेमा तुरुन्त नजिकको पशुपन्छी उपचार गर्ने शाखा तथा निकायमा सम्पर्क गर्न सुझाव दिएको छ । संक्रामक रोग विभिन्न किसिमका जिवाणु तथा विषाणुको कारणले लाग्ने भएकाले पशुपन्छीमा वर्षेनी खोप लगाउन भनिएको छ । 

त्यस्तै, गर्भिणी संक्रमित पशुबाट जन्मेका बाच्छाबाच्छी तथा पाडापाडीलाई जन्मेको चार महिनापछाडि मात्र खोप उत्पादकले तोकेको मात्रामा लगाउन विभागले सचेत गराएको छ । 

विभागले संक्रमण भई निको भएको पशुहरुलाई एक वर्षपछि मात्र खोप लगाउन सुझाउँदै गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन सरसरफाई तथा बेलाबेलामा किटाणुनाशक-किटाणुरोधक औषधीको प्रयोग गरी निसंक्रमण गर्न सकिने उपायबारे पनि जानकारी गराएको छ । 

गोठमा जैविक सुरक्षाको उपायहरु अनिवार्य पालना गर्न, अनाधिकृत व्यक्ति र वस्तुको प्रवेश निषेध गर्न, रोगको शंका लागेको वा रोगी भएको अवस्थामा रोगी पशुवस्तुलाई सार्वजनिक चरण, खर्क वा आहाल बस्ने ठाउँमा नलैजान पनि भनिएको छ । 

विभागले संक्रमति क्षेत्रबाट पशुको ओसारपसार नगर्न, नयाँ पशु गोठमा भित्र्याउन लाग्दा कम्तीमा २८ दिन अलग्गै राखेर निगरानी गर्न र रोगी भई मरेका पशुवस्तु र त्यससँग लसपस भएका सामाग्रीहरु गहिरो खाडल खनि गाडन पनि सूचनामा उल्लेख गरेको छ ।

टिप्पणीहरू