कन्सर्ट बिथोल्ने सुईंको पाएपछि हजारौं सुरक्षाकर्मी परिचालन

कन्सर्ट बिथोल्ने सुईंको पाएपछि हजारौं सुरक्षाकर्मी परिचालन
सुन्नुहोस्

संविधान दिवसको अवसरमा आज साँझ दरबारमार्गस्थित नारायणहिटी गेटमा आयोजना हुने ‘नेशनल डे कन्सर्ट’को सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

कन्सर्टमा सहभागी हुने विशिष्ट व्यक्ति, कलाकार र सर्वसाधारणको सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्रका करिब चार हजार फौज सडकमा तैनाथ गरिएको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सादा पोशाकका सुरक्षाकर्मी पनि खटाइएको जानकारी दिए । 

संविधानविरोधी शक्तिहरु कन्सर्ट बिथोल्ने योजनामा रहेको सुईंको पाएपछि प्रहरीले हिजैदेखि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको बताइन्छ । संविधानविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका राजावादी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोलगायतका गतिविधिलाई नोटिसमा राखेको प्रहरीले बताइसकेको छ । 

अपरान्ह ४ बजेबाट शुरु हुने कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थहरु सहभागी हुँदैछन् । प्रधानमन्त्री ओली साढे ६ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । 

कन्सर्टमा काठमाडौँ महानगरपालिका मेयर बालेन साहका समर्थकहरु पनि सहभागी हुने प्रहरीको अनुमान छ । अस्ति इन्द्रजात्रा बिथोलेको आरोपमा वसन्तपुरबाट बालेनको तस्बिर अंकित टिशर्ट लगाएका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कन्सर्टमा गायक प्रमोद खरेल, सुगम पोखरेल, कुन्ति मोक्तान, स्वप्न सुमनलगायतका राष्ट्रिय कलाकारले प्रस्तुति दिनेछन् । त्यस्तै, दी एलिमेन्ट ब्याण्ड र कुटुम्बको पनि प्रस्तुति रहने बताइएको छ ।

टिप्पणीहरू