मधेसमा पहिलोपटक मनाइयो संविधान दिवस

मधेसमा पहिलोपटक मनाइयो संविधान दिवस

मधेस सरकारले पहिलोपटक औपचारिकरुपमा संविधान दिवस मनाएको छ । 

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधाममा प्रभातफेरि गरिएको छ । आज बिहान रामानन्द चोकबाट शुरु भएको प्रभातफेरिले नगर परिक्रमा गरेपछि औपचारिक कार्यक्रम भएको बताइन्छ । 

कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंह, गृह, कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखी र अन्य मन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान बनेपछि मधेसी जनताको हक र अधिकार सुनिश्चित भएको बताए । संघीयताले देशको पूर्वाधार विकासमा फट्को मारेको उनको भनाई थियो । 

त्यस्तै, सञ्चारमन्त्री लेखीले पनि संविधानको कारण जनताले सरकारकोअनुभूति गर्न पाएको तर्क गरे । संविधानमा देखिएका असहमतिहरुलाई भने जनताको मुद्धासँग जोडेर परिमार्जन गर्न सकिने उनको भनाई छ । 

संविधानले मधेसी जनतालाई उपेक्षा गरेको भन्दै २०७२ सालमा संविधान जारी हुँदा मधेसवादी दलहरुले विरोध गरेका थिए । त्यसयता मधेस केन्द्रित दलहरुले हरेक वर्ष संविधान दिवसको दिन ‘कालो दिन’ मनाउने गरेका छन् । २०७४ को निर्वाचनपछि करिब छ वर्ष जसपाले सरकारको नेतृत्व गर्दा सरकारी तहबाट मधेसमा संविधान दिवस मनाइएको थिएन ।

टिप्पणीहरू