डिभोर्सअघि सिके राउत दम्पत्तिलाई प्रहरीले बोलायो

डिभोर्सअघि सिके राउत दम्पत्तिलाई प्रहरीले बोलायो

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र छोडपत्र गर्न लागेकी श्रीमती दुबैले सुरक्षाको माग गर्दै प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका छन् । श्रीमती सोनी सिन्धु रानीले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तमा आज निवेदन दिएकी हुन् । उनको निवेदनमा श्रीमान राउतबाट खतरामा रहेको उल्लेख गर्दै सुरक्षा माग गरिएको उल्लेख छ । 

अध्यक्ष राउतले पनि अस्ति इमाडोल प्रहरी प्रभागमा श्रीमतीबाट खतरामा रहेको दावीसहित सुरक्षा माग गर्दै निवेदन दिएका थिए । दुवै जनाले फरक फरक निवेदन दिएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार यसबारे छलफल गर्न भोलि दुबैलाई बोलाइएको छ ।  

राउत र सिन्धुका दुई छोरी र एक छोरा छन् । राउतले सिन्धुमाथि घरमा नबस्ने, माइत मात्र जाने, बालबच्चा नहेर्ने, विभिन्न बहानामा झगडा गरेर डिभोर्सको लागि दबाब दिँदै आएको आरोप लगाएका छन् । सिन्धुले पनि राउतमाथि आफूलाई बारम्बार हिंसा गरेको र परस्त्रीसँग लागेको गम्भीर आरोप लगाएकी छन् ।

राउतले श्रीमती रानीसँग डिभोर्सको लागि ललितपुर जिल्ला अदालतमा भदौ १२ गते मुद्दा दायर गरेका हुन् ।

टिप्पणीहरू