राष्ट्रिय दिवसमा राष्ट्रिय झण्डाको बिजोग, सामाजिक सञ्जालमा तथानाम

राष्ट्रिय दिवसमा राष्ट्रिय झण्डाको बिजोग, सामाजिक सञ्जालमा तथानाम
सुन्नुहोस्

राष्ट्रिय झण्डाले कुनैपनि मुलुकको प्रतिनिधित्व गर्छ । राष्ट्रिय झण्डाको सम्मान गर्नु सबै नागरिकको दायित्व हो । बिडम्बना, मुलुकमा संविधान दिवसकै दिन राष्ट्रिय झण्डाको अपहेलना भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हिजो राजधानीको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरियो । 

कार्यक्रममा युवाहरुको ठूलो उपस्थिति थियो । हरेकको हातमा राष्ट्रिय झण्डा देखिन्थ्यो । नेपाली झण्डा फहराउँदै उनीहरु सांस्कृतिक कार्यक्रममा झुमेका थिए । साँझपख प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा उपस्थित हुनुभयो । उहाँको ‘लुक्स’ लाई लिएर सर्वसाधारणले विभिन्न कोणबाट समर्थन र विरोध गरेका छन् । 

सहभागी युवाहरुले कार्यक्रम सकिएपछि झण्डा सडकमै फालेर हिँडेको दृश्यले खिन्न बनाएको छ । हिजो साँझ दरबारमार्गका सडकमा यत्रतत्र राष्ट्रिय झण्डा फालियो । राष्ट्रिय दिवसको दिन राष्ट्रिय झण्डाको अपमान गरिएको भन्दै राष्ट्रिय झण्डाको महत्व थाहा नभएकाहरुले झण्डालाई बिजोग बनाएकोमा सामाजिक सञ्जालमा आपत्ति जनाइएको छ ।

एक जनाले लेखेका छन्, ‘खाजा र पैसाको लागि जम्मा भएको जमात हो यो देशको झण्डाको महत्व के थाहा यिनलाई ।’ 

त्यस्तै, अर्कोले भनेका छन्, ‘भाडामा भीड जम्मा पारेर देश विकास हुने होइन, देखावटी राष्ट्रवादले हुनेचाँहि के रैछ । राष्ट्रिय दिवस रे, राष्ट्रिय दिवस के हो भन्ने थाहा नहुने हाम्रा माननीयज्यूहरु राष्ट्रिय दिवस मनाउन जिन्स फिटिङ्ग पाइन्ट क्याप टोपीमा सजिएको देख्दा अचम्म लाग्छ । अनि नेपालको झण्डा एकछिन तमासा देखाउञ्जेल मात्रै हो ? सदुपयोग गरेर राखेको भए फेरि अर्कोपल्ट तमासा देखाउन काम लाग्दैन्थ्यो ? यसमा जनताको करको पैसा परेको छैन । यो देखावटी देशप्रेमको जनताले हिसाब राखेका छन् ।’

सामाजिक सञ्जालमा भेटिएको छ, ‘देश र राष्ट्रिय झण्डाप्रतिको माया यसैबाट प्रष्ट भयो ।’ अर्का एक जनाले लेखेका छन्, ‘मासुभातमा बिकेका मात्र हुन् । राष्ट्रवादीहरु भएको भए झण्डाको यो हविगत हुँदैन थियो ।

टिप्पणीहरू