निकुञ्जको विवाद समाधान गरिँदै

निकुञ्जको विवाद समाधान गरिँदै

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा विवाद समाधानका लागि अधिकार सम्पन्न आयोग बन्ने भएको छ । 

क्याविनेट बैठकले उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । 

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरूको सट्टाभर्ना समस्या समाधान गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश श्री जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने,’ क्याविनेटको निर्णयमा उल्लेख छ । 

यसअघि सोही क्षेत्रका कांग्रेस सांसद एनपीले साउद शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न सरकारसँग माग गर्दै आएका थिए । उनले भदौ १८ मा बसेको प्रतिनिधिसभा बैठकमा पनि न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका थिए ।

साउदका अनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौँ रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।

टिप्पणीहरू