जिल्लाभरि हिसाब भद्रगाेल

जिल्लाभरि हिसाब भद्रगाेल

कतै रकम आएन भनेर रोइलो कतै प्रचुर मात्रामा रकम विनियोजित भएर पनि खर्च गर्न नसकेर बजेट फ्रिजको अवस्था । फ्रिजसम्म त ठीकै थियो, अधिकांश स्थानीय तहमा देखिएको बेरुजु फर्याेट गर्न हम्मे हम्मे परेको छ । बेंसीशहर नगरपालिका मा १ करोड ४५ लाख बेरुजु देखिएको छ । कुराले त उडेको चरो पनि खसाल्ने मेयर जनकराज मिश्रको नगरपालिका सुन्दर बजारमा त झन् हिसाब भद्रगोल छ, कति बेरुजु भयो भनी सोध्दा उत्तरै छैन । अधिकांश स्थानीय सरकारको हालत त्यस्तै छ । बेरुजु समस्या दीर्घकालीन रोगजस्तै बने पनि स्थानीय सरकारका जनप्रतिनिधि आलेप नगरिएको भन्दै कुरा टार्छन् ।

गण्डकी प्रदेशमा २३ अर्ब ८९ करोड २७ लाखको लेखा परीक्षण गर्दा १ अर्ब ६४ करोड ४७ लाख बेरुजु देखिएको छ । मुख्यमत्री पृथ्वीसुब्बा गुरुङ कैयाैं रकम असुलउपर गर्नुपर्ने, स्थानीय सरकारलाई समापूरक अनुदान, फिर्ता गर्नुपर्ने बताउँछन् । उनका अनुसार ७ करोड ४८ लाख, १५ हजार असुल गर्नुपर्ने, १५ करोड ७३ लाख ३६ हजार नियमित गर्नुपर्ने, र १ अर्ब १२ करोड ७३ लाख ८७ हजार पेश्की उठ्न बाँकी रहेको बताउँछन् ।

स्थानीय तहलाई प्रदान गरिएको १ करोड ९० लाख समापूरक अनुदान र विशेष अनुदानबापतको ३ करोड २९ लाख पनि सम्बन्धित पालिकाहरूले खर्च नगरेको हुँदा फिर्ता माग्ने तरखरमा छन् । लमजुङको मात्रै १ अर्ब ९७ लाख ९० हजार फ्रिज भएको छ । ०७६/७७ को कुल बजेट ८ अर्ब ९० करोड ५४ लाख १ हजारमध्ये ६ अर्ब ६८ करोड ३१ लाख ८१ हजार मात्र खर्च भएको थियो भने समग्र लमजुङमा १० करोड हाराहारीमा बेरुजु निस्कन सक्ने कोलेनिका प्रमुख भगवान्प्रसाद उप्रेती बताउँछन् । समयमा योजनामा कार्यान्वयनमा चासो नदिने तर मसान्तको आसपास आएर जति डोजर चलाउन खोजे पनि विनियोजित बजेट खर्च नहुँदा बजेट फ्रिज हुने उप्रेतीको दाबी छ ।

यता, कोरोनाको चपेटामा पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङदेखि उनी प्रमुख जस्तै रहेको रेडियो चौतारीका आधा दर्जन सञ्चारकर्मी तीन हप्ता आइसोलेशन बासपछि नियमित काममा फर्के पनि संक्रमितको दर बढ्दो छ । समाचार पार्दासम्म ३३७ जना संक्रमित फेला परेका छन् । जसमध्ये महिला ७३ पुरुष २६४ छन् भने निको भएर फर्कनेमा पुरुष १७५ महिला ३० छन् । जिल्लाका विभिन्न आइसोलेसनमा १३२ जना छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा खानालगायत सामग्रीमा मोटो रकम खर्च भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ तथा सूचना अधिकारी काजीमान सुनारले जानकारी दिए । सुन्दरबजार, भोटेओडार, बेंसीसहर, भकुन्डे क्वारेन्टाइनमा खानाको मात्रै ३१ लाख, ९७ हजार, ७२५ भएको छ । भदौसम्मको खर्च ५५ लाख ४६५ भनिए पनि कति ठाउँबाट बिल भरपाई आउनै बाँकी रहेको सुनार बताउँछन् ।

अञ्जनकुमार

टिप्पणीहरू