चेतावनीपछि रविको बार्गेनिङ, देखापर्दै राजनीतिमा नयाँ रंग

चेतावनीपछि रविको बार्गेनिङ, देखापर्दै राजनीतिमा नयाँ रंग

‘तस्करहरुविरुद्ध लड्दा मैले आज यो भोगेको छु, केपी ओलीसँग एक थोपो रगत हुञ्जेलसम्म लड्छु !’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हजुरबा’ भनेर बोलाउने मेडिकल व्यवासायी दुर्गा प्रसाईंको अभिव्यक्ति हो यो । 

असोज ६ गते भक्तपुरको कमेरोटारस्थित निवासबाटै समातिएका प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । शरीरमा एक थोपो रगत रहुञ्जेल ओलीविरुद्ध लड्ने उद्घोष गरेका उनी कुनै समय एमाले केन्द्रीय सदस्यसमेत थिए । एमाले छाडेर राजावादी अभियानमा लागेयता ओलीको कटु आलोचकका रुपमा प्रस्तुत भैरहेका छन् उनी । सरकारले त्यसको बदला लिन झुठो मुद्दा लगाएर फसाउने प्रपञ्च रचेको प्रसाईंका समर्थकहरुको आरोप छ । 

आइतबार साँझ पार्टी मुख्यालय बनस्थलीबाट त्यस्तै हुँकार छोडे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेले । प्रसाईंले जस्तो सिधै ‘केपी ओलीसँग भिड्ने’ अभिव्यक्ति नदिए पनि सहकारी प्रकरणमा आफूलाई फसाउन खोजेको जिकिर गर्दै उनले सरकारविरुद्ध सडकबाट मोर्चा कस्ने संकेत दिएका छन् । 

सहकारी ठगी प्रकरणमा दोषी ठहर गर्दै संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई तत्कालीन सञ्चालक छविलाल जोशी र प्रबन्ध निर्देशक रविलाई कारबाही सिफारिस गरेको छ । त्यसैका आधारमा प्रहरीले आइतबार दिउँसो छविलाई समातेपछि अत्तालिएका रविले तत्कालै काठमाडौँमा उपलब्ध नेता–कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन आदेश दिए । रविले कार्यकर्तालाई प्रष्ट सन्देश दिएका छन्– मेरो गिरफ्तारी रोक्न जतिबेला पनि सडकमा आउनुपर्ने हुनसक्छ, तयार रहनू !  

पछिल्लो एक हप्तामा विकसित यो घटनाक्रमसँगै मुलुकमा राजनीतिक ध्रुवीकरणसमेत बढ्ने देखिँदैछ । खासगरी सहकारी प्रकरणमा रविको संलग्नता र सम्भावित गिरफ्तारीप्रति सत्ता र प्रतिपक्षबीच फरक बुझाई देखिन्छ । काँग्रेस, एमालेसहित सत्तापक्षमा रहेकाहरु छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा रविलाई पक्राउ गर्न चाहन्छन् । रास्वपासहित प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र अन्य प्रतिपक्ष दलहरु भने सरकारले राजनीतिक पूर्वाग्रह साँध्न खोजेको आरोप लगाएका छन् । 

देशभित्र उत्पन्न यो परिस्थितिले आमतहमा पनि कित्ताकाट शुरु भएको छ । खासगरी सामाजिक सञ्जालमा पक्ष–विपक्षमा प्रचार भइरहेको छ । मूलधारका दल, नेता र सरकारको कार्यशैलीले असन्तुष्ट रहेकाहरु प्रधानमन्त्रीको विरोधमा उत्रिन थालेका छन् । र, त्यसको प्रभाव देश बाहिरसमेत देखिँदैछ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाविरुद्ध नाराबाजी हुनुको मुख्य कारण यहि मानिन्छ । 

सोमबार नेपाली समुदायले प्रधानमन्त्रीको स्वागतमा गर्न लागेको पूर्वनिर्धारित एउटा कार्यक्रम रद्धसमेत भयो । कार्यक्रमस्थलको सुरक्षाको कारण देखाउँदै न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम अन्तिम समयमा स्थागित गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्दै असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका ओलीलाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थन छ । अन्य साना दललाई समेत साथ लिएर बलियो गणितीय सरकारको नेतृत्व गरिरहेका ओलीलाई सामाजिक सञ्जाल र सडक भने अनुकूल नरहेको यी घटनाक्रमले देखाउँछ । 

अहिले रवि, बालेन साह र दुर्गा प्रसाईंहरुले असन्तुष्ट जनमतलाई आफू अनुकूल प्रयोग गरिरहेका छन् । यो स्थितिमा दुर्गा प्रसाईंलाई पक्राउ गरेको सरकारमाथि झिनै भए पनि सडकबाट चुनौती शुरु भइसकेको छ । यसैकारण रविलाई समात्ने तयारीबाट सरकार पछि हटेको अनुमान गरिएको छ ।

त्यसो त, रवि आफैँले सरकारसँग ‘बार्गेनिङ’ गरेका छन् । अस्ति साँझ पक्राउ पर्ने चर्चाका बीच हिजो उनले प्रधानमन्त्रीलाई घुमाउरो प्रस्ताव गरे, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस्  प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न ।’ 

एमालेका एकजना पदाधिकारी तहका नेताले बार्गेनिङ भएको हुनसक्ने आशंका गरे । उनको बुझाई छ, ‘रविलाई पक्राउ नगर्दा सरकार डराएको संदेश जान्छ, समात्दा विरोध चर्किने स्थिति छ !’ असन्तुष्टहरु क्रमशः सडकमा जाँदा बंगलादेशमा जस्तै नेतृत्वविहीन अराजक र असंगठित आन्दोलन चर्किने खतरा विश्लेषण गर्दै रविको हकमा सरकार ‘पर्ख र हेर’को मनस्थितिमा रहेको उनको अनुमान छ ।    

हुन पनि हो, यस्ता विषयमा सरकार संवेदनशील नभए नागरिक असन्तुष्टिको सानो झिल्को दन्किएर आन्दोलनको रुप नलेला भन्न सकिन्न । किनभने दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध एउटा समूह सडकमा गैसकेको छ । राजतन्त्र फर्काउने घोषित नीतिमा रहेको राप्रपाको सडक संघर्ष पहिलेबाटै प्राथमिकतामा छ । त्यस्तै, संविधान संशोधनको नाममा समानुपातिक–समावेशी प्रतिनिधित्व प्रणाली सिध्याउन खोजेको आशंका गरेका क्षेत्रीय पार्टीहरु पनि जुनसुकै बेला सडकमा ओर्लिने तयारीमा छन् । शंकर पोखरेलहरुको सार्वजनिक अभिव्यक्तिले उनीहरुलाई सडकमा उत्रिन उत्प्रेरित गरिरहेको छ । 

‘सरकारलाई न अघि बढ्नु न पछि हट्नुजस्तो अवस्थामा देखिँदैछ’, उनै एमाले नेता भन्छन्, ‘विदेशमा समेत प्रधानमन्त्रीविरुद्ध नारा लाग्नु भनेको गम्भीर चिन्ताको विषय हो । परिस्थिति जटिल बन्ने नै देखियो ।’

टिप्पणीहरू