लेबनानमा बस्ने नेपालीजन, सावधान
सरकारले लेबनानमा रहेका नेपाली नागरिकलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । इजरायलसँग युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।
मन्त्रालयले हाल लेबनानमा रहेका नेपालहरु सुरक्षित रहेको जनाउँदै उनीहरुको सहजताका लागि निरन्तर प्रयास भइरहेको पनि जानकारी गराएको छ । ‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित निश्चित गर्नेतर्फ नेपाल सरकार पुर्ण रुपमा सचेत रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हालसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहनुभएको छ । उहाँहरुको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको छ ।’
तत्कालै कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली तथा उनीहरुका आफन्तले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत तथा परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
दूतावासका सचिव दीपक घिमिरेलाई २०१०९७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने छ । त्यस्तै, अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ । परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू