बाढी पीडितलाई सहयोग गर्न पनौतीको आग्रह

बाढी पीडितलाई सहयोग गर्न पनौतीको आग्रह

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनका निम्ति सहयोग मागेको छ । 

असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको भीषण बाढी तथा पहिरोले नगरक्षेत्रमा ठूलो धनजनको क्षति भएपछि पनौतिले सहयोग आह्वान गरेको हो । नगरपालिकाले आज सूचना जारी गर्दै बाढीपहिरोका कारण सयौं घरबासविहीन भएको, सडक बगाएको तथा सयौं रोपनी जग्गामा लगाएको खेतबाली पूर्ण रुपमा नष्ट भएको बताएको छ । 

‘प्राकृतिक प्रकोपको यस कठिन अवस्थामा खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत, आवागमनलगायतका समस्याबाट आम जनजीवन असाध्यै कष्टकर बनिरहेको छ,’ सूचनामा उल्लेख छ । 

पीडितहरुको सहयोगका लागि एकद्धार नीतिअन्तर्गत रही उदारतापूर्वक सामग्रीहरु खाद्यान्न, लत्ताकपडा, त्रिपाल, भाडाकुडा, टर्च बत्ति आलि वा नगद सहयोग गरिदिन नगरपालिकाको अनुरोध छ । 

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ०९००३०००००७०२०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ । बाढीपहिरोमा परी पनौती नगरपालिकामा २० जनाको ज्यान गएको छ । 

त्यस्तै, धेरै व्यक्तिहरु घाइते अवस्थामा रहेको, पाँच सय घर पहिरोमा परी पूर्ण रुपमा क्षतिग्रस्त भएको, सात सय १३ वटा घरमा आंशिक रुपमा क्षति पुगेको र पहिरोमा पुरिएर दुई हजारभन्दा बढी पशुधनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू