विदेश भासिएका जनप्रतिनिधिद्वारा पद त्याग
वैदेशिक रोजगारीका लागि हङकङ गएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद वोखिमले पद छोडेका छन् । एक वर्षअघि सुटुक्क हङकङ उडेका र अहिलेसम्म गुपचुप रहँदै आएका उनले उतैबाट राजीनामा पठाएका हुन् ।
गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानमार्फत जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै वोखिमले राजीनामा पठाएको बताइएको छ । वडा सदस्य अम्बी साउदेनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वोखिम गत कात्तिक २४ गते हङकङ गएका थिए ।
वडाध्यक्ष नहुँदा स्थानीय मर्कामा छन् । विकासको काम सुस्त भएको उनीहरुको गुनासो छ । धन कमाउन विदेश भासिएका वोखिम गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।
दाङको राप्ती गाउँपालिका वडा नं ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ बेलायत गएको करिब दुई महिना भयो । व्यक्तिगत कामको लागि भनेर गएका उनी अहिलेसम्म फर्किएका छैनन् । वडासदस्य चम्फा पुनलाई कार्यवाहक सुम्पिएर विदेश भासिएका गुरुङले राजीनामा पनि दिएका छैनन् ।
गुरूङको भनाई उदृत गर्दै पुनले भनेकी छन्, ‘काम परेर बेलायत जान लागेको छु, म नफर्किंदासम्म कामकाज हेर्नुहोला ।’
त्यसो त एमालेबाट चुनाव जितेका गुरूङले बेलायत जानुको ठोस कारण खुलाएका थिएनन् । तर, परिवारका सदस्यले भने ऋण लागेर विदेश जान बाध्य भएको बताएका छन् । चुनाव लड्दा करिब ५० लाख ऋण लागेको र वडाध्यक्षको तलबले तिर्न नसक्ने भएपछि गुरूङ बेलायत गएको परिवारको भनाई छ ।
वडाध्यक्ष गुरूङ र बोखिम प्रतिनिधि उदाहरण मात्र हुन् । चुनावमा गरेको खर्च उठाउन विदेश भासिनुपर्ने अधिकांश जनप्रतिनिधिको बाध्यता बन्दैछ ।
देश बनाउने अठोट लिएका जनप्रतिनिधि नै ऋण लागेर विदेश उड्न थालेपछि निर्वाचन प्रणालीमाथि प्रश्न उठ्न थालेको छ । समाजका अगुवाहरु भन्छन्, ‘निर्वाचन प्रणाली नै खर्चिलो छ ! चुनाव जित्न पैसो चाहिन्छ । पैसा आफूसँग भए त हो, नभए ऋण लिनुपर्यो । फेरि एक-दुई लाखले पुग्दैन, खोला बगाउनुपर्छ । चुनाव हारेपछि फेरि अर्कै तनाव हुन्छ । जितेपनि मासिक तलब भत्ताले ऋण तिर्न पुग्दैन । अनि उपाय के छ ? बिदेश पलायन हुनुबाहेक !’
टिप्पणीहरू