आफ्नै बुद्धिले डुब्छन् निर्माता

आफ्नै बुद्धिले डुब्छन् निर्माता

नेपाली चलचित्रको वर्तमान बजारलाई हेर्ने हो भने एउटा कमर्सियल चलचित्र तयार पार्न कम्तिमा दुई करोड खर्च हुन्छ । कतिपय चलचित्रमा निर्माताले पाँच करोडसम्म लगानी गरेको उदाहरण पनि छ । तर, यहाँ प्रसंग लगानीको हैन, आम्दानीको हो । 

तीन करोड जनसंख्या रहेको देशमा झन्डै एक करोड  विदेशमा छन् । नेपालमै भएका पनि सबै उमेर समूहका मानिसले फिल्म हेर्दैनन् । यसैपनि मोबाइलमा सजिलै आफूले चाहेको सिनेमा हेर्न सकिने सुविधाले हलसम्म पुग्नैपर्ने बाध्यता छैन । 

चलचित्र विकास बोर्डले केही समयअघि गरेको एक अध्ययनअनुसार एउटा चलचित्रलाई नाफा कमाउन कम्तिमा नेपालको जनसंख्याको तीन प्रतिशत दर्शक हलसम्म पुग्नुपर्छ । अर्थात, तीन लाख दर्शकले टिकट काटिदिए निर्माताले लगानी सुरक्षित गरेर केही नाफा कमाउन सक्छन् । 

अभिनेता प्रविण खतिवडाको तर्क पनि उस्तै छ । भन्छन्, ‘तीन प्रतिशत जनताले फिल्म हेरिदिए भने निर्माण टिम जोगिन्छ ।’ तर, अहिले के तीन लाख दर्शक हलमा पुगिरहेका छन् त ? चलचित्र क्षेत्रकै जानकारहरु भन्छन्, 'छैन !' 

अहिले वर्षेनी सरदार ६० भन्दा बढी चलचित्र प्रदर्शनमा पाउने गरेको छ । तीमध्ये मुश्किलले एक दर्जन चलचित्रले मात्र लगानी उठाएको र चार/पाँच वटाले मात्र राम्रो नाफा कमाएको बक्स अफिस कलेक्शनबाट स्पष्ट हुन्छ । बाँकीको हकमा निर्माता, निर्देशक र कलाकारहरुले रहर मेटाउनुबाहेक उपलब्धि शून्यको अवस्था छ । 

कतिपय चलचित्र भने अपवादमा पर्छन् । दावीअनुसार गतवर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘जारी’ले साढे १७ करोड आम्दानी गर्यो । यो चलचित्रको टिकट देश-विदेशमा गरी आठ लाखभन्दा बढी विक्री भएको थियो । तर, सबै चलचित्रको भाग्यमा यो हुँदैन । 

आफ्नै बुद्धिले डुब्छन् निर्माता

कुनै पनि फिल्म फ्लप हुनुमा धेरै कुराले प्रभाव पार्छ । चलचित्रको कथा, कलाकार, प्रचार-प्रसार, वितरक कम्पनी, हलहरुले उपलब्ध गराउने शो संख्या, अर्को चलचित्रसँगको प्रतिस्पर्धा इत्यादी ।  

तर, चलचित्रकर्मीहरुले यी सबै कुरा जान्दा जान्दै पनि चलचित्र जुधाउछन् । जस्तो आगामी असोज २४ गते फुलपातीको अवसर पारेर तीनवटा फिल्म एकैसाथ प्रदर्शनमा आउँदैछ । दिपकराज गिरीको ‘छक्का पञ्जा ५’, विराज भट्टले कमब्याक गर्न लागेको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाँइसाब’ प्रदर्शनमा आउन लागेका हुन् । 

‘छक्का पञ्जा’मा तीन करोड, ‘१२ गाउँ’मा साढे तीन करोड र ‘ज्वाइँसाब’मा साढे दुई करोड लगानी भएको निर्माताको दावी छ । यी तीन चलचित्रका निर्माण टिमले आपसी सहमति गरेर फरक-फरक मितिमा प्रदर्शन गर्न सक्थे । यसो हुँदा तीनवटै फिल्मले हलमा राम्रो शो र दर्शक पाउन सक्ने सम्भावना रहन्थ्यो । तर, एकैदिन प्रदर्शन हुने भएपछि हलमा राम्रो शो संख्या पाउन मुश्किल हुने र दर्शकहरु बाँडिने (घट्ने) निश्चित देखिन्छ । 

खैर, तीन चलचित्रलाई कति दर्शकले हलमा गएर हेर्छन्, त्यो त प्रदर्शनपछि नै थाहा हुन्छ । तर, चलचित्र वृतमै चर्चा छ- निर्माण टिमको आफ्नै बुद्धिले तीन चलचित्रको भविष्य जोखिममा पर्यो ।

टिप्पणीहरू