स्याउको गुणस्तरमा कुनै सम्झौता नगर्ने सहमति

स्याउको गुणस्तरमा कुनै सम्झौता नगर्ने सहमति

-अमृतप्रसाद पौडेल

मुस्ताङलाई नेपालमा स्याउको राजधानी मान्नेहरुको कम छैनन् । स्वादिलो भनेर मुलुकभर प्रचलित स्याउ हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा उत्पादन हुन्छ । कुनै समय ‘क्या राम्रो स्याउबारी मार्फा गाउँमा’ भन्ने गीतले पनि मुस्ताङको स्याउको बजारीकरणमा निकै टेवा पुगेको थियो । 

सोही गीतमा भनिएको स्याउबारी हेर्न ‘राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ’ भन्ने शब्दलाई असोज महिना लागेसँगै बजारमा पुग्न थालेको स्याउले पनि चरितार्थ गरेको छ । मार्फालगायत जिल्लाका पाँचवटै गाउँपालिकामा उत्पादित स्याउ टिप्ने र ग्रेडिङ गरेर बजार पठाउने प्रक्रिया यो वर्ष असोज १ गतेबाट शुरु भएको छ ।

सर्वपक्षीय जिल्ला बैठकको निर्णयबमोजिम असोज १ गतेददेखि स्याउ टिप्न पाइने भएपछि कृषकहरु त्यसपछि स्याउ बजार पुर्याउन व्यस्त देखिन्छन् । मुस्ताङी स्याउको माग बजारमा उच्च रहेको बेनी नगरपालिका–८, न्यूरोडका फलफूल व्यापारी विज्ञान शर्मा बताउँछन् । पसलमा जुम्ला तथा अन्य हिमाली क्षेत्रको स्याउसमेत बिक्रीका लागि राखिएता पनि मुस्ताङकै स्याउको माग धेरै हुने गरेको छ । 

स्याउ कलिलैमा टिपेर बजार पठाउँदा गुणस्तरमा कमी आएको गुनासोलाई सम्बोधन गर्न जिल्ला समन्वय समितिको अगुवाइमा सर्वदलीय बैठक राखिएको हो । बैठकमा स्याउको जातअनुसार टिप्ने मिति तय भएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङको भनाई छ । असोज १ पछि मात्रै स्याउ टिप्ने निर्णयानुसार नै अहिले धमाधम स्याउ टिप्न थालिएको हो ।

स्याउ खरिदका लागि अन्यत्र जिल्लाका व्यापारीहरु स्याउ बगैंचामा पुगेका छन् । मुस्ताङका व्यापारीहरु पनि स्थानीय उत्पादन किन्न व्यस्त रहेको घरपझोङ गाउँपालिका–मार्फाका स्याउ कृषक दिपक लालचनको भनाई छ । भन्छन्, ‘मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ पोखरा, काठमाडौं, चितवनलगायतका शहरमा पुग्ने गरेका छन् । यसका लागि व्यापारीहरु मुस्ताङको स्याउबारी नै पुग्छन् ।’ 

यतिखेर स्याउ खरिदका लािग पुगेका व्यापारी र स्याउ टिप्ने कामदारले स्याउको बगैंचामा प्रशस्त मानिसको चहलपहल देखिन्छ । मुस्ताङको स्याउ दाना लाग्न थालेपछि नै बगैंचा व्यापारीले ठेक्कामा लिने भएकाले अहिले ती ठेकेदार र उनीहरुका कामदार नै स्याउको बगैंचा कुर्न पुगेका हुन् ।

साउन भदौतिर स्याउ टिपेर बजार पठाउँदा गुणस्तर कायम नभएको गुनासो आएपछि पछिल्लो दुई वर्षदेखि असोज लागेपछि मात्रै स्याउ टिप्न सूचना जारी गर्दै आएको बताइन्छ । असोज १ पछि मात्र स्याउ टिप्ने गरिएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताए । विगतमा तीजभन्दा अगवौ मुस्ताङी स्याउ बजार पुग्ने गरथ्यो । राम्रोसँग नपाकेकाले स्याउको स्वाद खस्किएको गुनासोपछि असोजमा मात्रै स्याउ टिप्नुपर्ने व्यवस्था गरिएको हो ।

यता शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले यो वर्ष दुई पटकसम्म सूचना जारी गर्दापनि केन्द्रको स्याउ खरिदमा कसैले पनि टेण्डर हालेनन् । केन्द्रले आफैँ स्याउ बिक्री गर्ने जनाएको छ । प्रतिकेजी एक सय २५ रुपैयाँका दरले फर्मबाटै खरिद गर्न सकिने सूचनामा उल्लेख भएपनि कसैले चासो नदेखाएपछि आफैंले व्यवस्थापनको योजना बनाएको शितोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

केन्द्रले सामान्यतयाः १३ मेट्रिक टन स्याउ बिक्री गर्छ । त्यस्तै ब्राण्डी, सुकुटीलगायत अन्य उत्पादनका लागि छुट्टै परिमाण तोकिन्छ । मुस्ताङमा स्याउखेतीमा आबद्ध कृषि फार्म, कृषक समूह र कृषि सहकारीको संख्या औपचारिक रुपमा ८७ पुगेको छ । जिल्लाको एक हजार २ सय हेक्टर भन्दाबढी क्षेत्रफलमा व्यावसायिक रुपमा स्याउ खेती गरिएको छ । मुस्ताङमा वार्षिक ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । जिल्लामा पनि मार्फा र टुकुचे क्षेत्रको स्याउ स्वादिलो मानिन्छ ।

मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ ।

समुन्द्री सतहदेखि चार हजार मीटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै तीन सय केजीसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता परिकारहरु बनाएर बिक्री गर्ने गरेका छन् ।

टिप्पणीहरू