राजधानीका मुख्य सडक छेउमा यात्रु सहायता कक्ष
चाडपर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकाका एक दर्जनबढी स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै आजदेखि उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
चाडपर्वको समयमा यात्रुलाई पर्नसक्ने समस्या समाधानलाई केन्द्रित गरेर सहायता कक्षको स्थापना गरिएको कार्यालयले जनाएको छ । जसअनुसार नागढुंगा, कलंकी, बाफल स्वयम्भू, नयाँ बसपार्क, चाबहिल, गौशाला, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, प्यानगाउँ र गोदावरी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
कक्षमा खटिएको टोलीले तोकिएको भाडाभन्दा बढी लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको र काउण्टरमा देखिने गरी भाडादर राखे–नराखेको अनुगमन गर्ने छ ।
त्यस्तै, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गनेर यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको पनि निगरानी गर्ने जनाइएको छ । कार्यालयले यात्रुहरुलाई कँही कतै समस्या भएमा आफूलाई पायक पर्ने स्थानको यात्रु सहायता कक्षमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
टिप्पणीहरू