मुस्कानसहितको शान्ति सुरक्षा दिने कि फेसबुकमा मस्किने ?

मुस्कानसहितको शान्ति सुरक्षा दिने कि फेसबुकमा मस्किने ?

नेपाल प्रहरीले आधिकारिक रुपमा तोकिएका सामाजिक सञ्जालका माध्यमबाहेक अन्य माध्यमको आफूखुशी प्रयोग नगर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका निम्ति पुनः सर्कुलर जारी गरेको छ ।

वर्दीको कुनै पनि पहिचान प्रयोग गरी सामाजिक सञ्जालको माध्यमबाट सामग्री सम्प्रेषण गर्दा नेपाल प्रहरीको सञ्चार नीति २०६० मा आधारित रहेर गर्नुपर्ने परिपत्रमा उल्लेख छ । त्यस्तै,प्रहरी कार्यालयको नाममा खोलिने फेसबुकलगायत पेजहरु सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै हेडर्क्वार्टरले व्यक्तिगत प्रोफाइलको रुपमा खोलिएका पेज तत्काल बन्द गर्न निर्देश गरेको छ । 

एकभन्दा बढी पेज भएका कार्यालयको आधिकारिक पेज निर्क्यौल गरी अन्य पेज बन्द गर्न, सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख रहने इकाइभन्दा तल्लो निकायमा सामाजिक सञ्जालको प्रयोग बन्द गर्न पनि परिपत्रमा भनिएको छ । प्रहरी कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पेज खोल्दा प्रोफाइल फोटोमा नेपाल प्रहरीको आधिकारिक लोगो प्रयोग गर्नुपर्ने, सम्बन्धित कार्यालय परिसर,प्रहरी गतिविधि,सूचना वा सन्देशमूलक सामग्रीहरु राख्नुपर्ने जनाइएको छ । 

"अनुसन्धान,शान्ति सुरक्षा,व्यक्तिको गोपनीयता आदिमा प्रतिकूल असर पार्ने, विवादित हुनसक्ने, समाजमा भय उत्पन्न गराउन सक्ने वा प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु सम्प्रेषण गरिने छैनन्"

पेजको नामाकरण गर्दा अंग्रेजीमा आफ्नो कार्यालयको पूरा नाम र स्थान लेख्नुपर्ने छ । यसरी खोलिएका पेजको जानकारी प्रहरी प्रधान कार्यालय,महानिरीक्षकको सचिवालय, सामाजिक सञ्जाल समन्वय डेस्कमा पठाउनसमेत निर्देशन दिइएको छ । प्रहरी कार्यालयको फेसबुकमा कुनै पनि सामग्री राख्नुअघि कार्यालय प्रमुख वा निजले तोकेको प्रहरी प्रवक्ताको स्वीकृति लिनुपर्नेछ । 

सम्प्रेषण गरिएका सामग्री प्रहरी कर्मचारीको व्यक्तिगत छविलाई नभई संगठनको सकारात्मक गतिविधिलाई प्रस्तुत गर्ने खालको हुनुपर्ने छ । ‘प्रहरी अनुसन्धान, शान्ति सुरक्षा,व्यक्तिको गोपनीयता आदिमा प्रतिकूल असर पार्ने, विवादित हुनसक्ने, समाजमा भय उत्पन्न गराउन सक्ने वा प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु सम्प्रेषण गरिने छैनन्,’ परिपत्रमा भनिएको छ । 

प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु सम्प्रेषण, लाइक,सेयर,ट्याग,कमेण्ट,लिंक सेयर गर्न पाईंदैन । सामाजिक सञ्जालको अनुगमन तथा प्रभावकारी सञ्चालनमा आवश्यक समन्वय र सहयोग गर्न महानगरीय तथा प्रत्येक क्षेत्रीय कार्यालयमा फेसबुकलगायतका क्षेत्रीय समन्वय सामाजिक सञ्जाल समन्वय सेल गठन गर्न पनि प्रहरी हेडक्वार्टरको निर्देशन छ । 

उक्त सेलले प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको सामाजिक सञ्जाल समन्वय डेस्कसँग समन्वय गर्नुपर्ने छ । साथै, उक्त निर्देशनको अवज्ञा गर्ने कर्मचारीउपर प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्मको कडा कारबाही हुने जनाइएको छ ।

टिप्पणीहरू