माइतीघरमा धर्ना बसेका सबै अधिकारकर्मी बिरामी, मर्न तयार रहेको चेतावनी

माइतीघरमा धर्ना बसेका सबै अधिकारकर्मी बिरामी, मर्न तयार रहेको चेतावनी

बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै झण्डै दुई महिनादेखि आन्दोलनरत अधिकारकर्मीहरु बिरामी परेका छन् । पछिल्लो ५६ दिनदेखि राजधानीको माइतीघर मण्डलामा धर्ना दिइरहेका १३ जना नै बिरामी भएको बताइन्छ ।

आन्दोलन नेतृत्वकर्ता रुबी खानलाई डेंगी र टाइफाइड भएको छ । त्यस्तै, अन्यलाई पनि ज्वरो आइरहेको अधिकारकर्मी मनकुमारी गुप्ताले बताइन् । ‘रुबीजीलाई डेंगी र टाइफाइड भएको छ । अन्यलाई पनि ज्वरो आएको छ । तर, जचाएका छैनौं’,उनले भनिन् । 

सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ । भन्छिन्, ‘बरु हामी यहीँ माइतीघर मण्डलामा मर्न तयार छौं । तर, सरकारले हाम्रो माग सम्बोधन नगरेसम्म हामी आन्दोलन छोड्दैनौं ।’

गत जेठ २५ गतेदेखि धर्नामा बसेका उनीहरुले यसअघि पनि पटकपटक आन्दोलन गरिसकेका छन् । सरकारले बारम्बार न्यायका लागि वार्ता–सहमति गरेपनि अहिलेसम्म न्याय नपाएपछि पुनः आन्दोलनमा उत्रिनुपरेको गुनासो छ ।
 

टिप्पणीहरू