सिडिओ कार्यालयलाई ठग्न खोज्दा कारबाही

सिडिओ कार्यालयलाई ठग्न खोज्दा कारबाही

बजार अनुगमनका क्रममा मापदण्ड मिच्नेलाई कारवाही गर्ने अधिकार पाएको जिल्ला प्रशासन कार्यालय कास्की आफैँ ठगीमा परेको छ । 

स्थानीय एक होटलले सिडिओ कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा न्यून परिमाणमा खाजा बेचेर ठगेको हो । उक्त होटललाई प्रशासनले जरिवानाको कारबाहीसमेत गरेको छ । 

हिजो पोखरास्थित शिक्षा विकास तथा समन्वय इकाईमा लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थितका निम्ति प्रशासनले पोखरा महानगरपालिका–४, चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयबाट खाजा मगाएको थियो । 

भोजनालयले परिमाणभन्दा निकै कम सामान आपूर्ति गरेपछि प्रशासनले कारबाहीस्वरुप जरिवाना तिराएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसूर गरेकाले दुई लाख रुपैयाँ जरिवाना तिराइएको प्रशासनले जनाएको छ । 

उक्त दफाको खण्ड (ङ) मा लेबलिङ्ग नगरेमा, माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने काम गरे वा गराएमा, सरकारले तोकेभन्दा बढी मूल्यमा सामान बिक्री गरेमा, निर्धारित मापदण्डविपरीत वस्तु वा सेवाको बिक्री गरेमा कसूर मानिने उल्लेख छ । 

उक्त कसूर गर्नेलाई दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

 

टिप्पणीहरू