फूलपाती नजिकियो, कलाकारबीच द्वन्द्व बढ्यो

फूलपाती नजिकियो, कलाकारबीच द्वन्द्व बढ्यो

सिनेवृत्तमा यतिखेर असोज २४ गते अर्थात् फूलपातीको व्यग्र प्रतीक्षा छ । तीन ठूला चलचित्र एकैचोटी प्रदर्शनमा आउने भएपछि चलचित्रकर्मीमा उत्सुकता बढ्नु स्वभाविक हो । तर, रमाइलो पक्ष चाँही ती चलचित्रले कलाकारहरुमा एक किसिमले विभाजन नै ल्याएको देखिन्छ । 

कतिपयले ‘छक्का पञ्जा ५’ को ट्रेलर सेयर गर्दै दीपकराज गिरीलाई ट्याग गरिरहेका छन । केहीले ‘१२ गाउँ’ को ट्रेलर सेयर गर्दै विराज भट्टलाई ट्याग गरेका छन् । यद्यपि, जितु नेपालको ‘ज्वाँइसाब’ पनि प्रतिस्पर्धामै छ । 

यही प्रसंगमा अभिनेत्री पूजा शर्माले एकाध कोही कसैको रिसले समग्र निर्माण टिमको सपनालाई लात नहान्न आग्रह गरेकी छन् । उनले आज ‘छक्का पञ्जा’ को ट्रेलर सेयर गर्दै भनेकी छन, ‘मन्दिरमा होइन हजुर, मनमा बत्ति बाल्नुहोस् । नकारात्मक सोचले हुने केही होइन । एक दुई जनाको रिसले धेरै जनाको सपनालाई लात्ति हान्ने काम नगरौँ ।’

पूजाले ट्रेलर सेयर गरेपछि दीपकराज गिरीले धन्यवाद भनेका छन् । त्यसमा थपेका छन्, ‘अब तिमीले पनि अलि अलि गाली खाने पक्का छ । एउटा फिल्मको प्रमोशन गर्दा अर्कोको सत्तो सराप गर्ने प्रवृत्ति बढेको छ, त्यो भनेको छिमेकीको घरमा आगो लगाएर न्यानो लिनु जत्तिकै हो ।’ 

पूजा पनि कस्सिँदै थप प्रतिक्रिया दिन्छिन्, ‘मलाई गाली र तालीले केही फरक पर्दैन, राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्ने हो ।’ अर्को रोचक के छ भने, दीपकराज र पूजाको स्टाटस वार्तामा दर्शकहरुले ‘१२ गाउँ’ को नाम लिएर चिढ्याएका छन् । रविन गिरीको भनाइ छ, ‘जोकरको फिल्म कसले हेर्छ हौ, १२ गाउँ हेर्ने हो ।’

वीर गोर्खाली नाम गरेका प्रयोगकर्ताले झन्, ‘१२गाउँ’ को टिकट राख्दै भन्छन्, ‘न थोपडा, न कथा, त्यस्ता हावा फिल्म हेरिँदैन, अब १२ गाउँ हेरिन्छ, यी टिकट लिइसकेँ ।’

उता विराज भट्टले भने शालीन तवरले चलचित्रको प्रचार गरिरहेका छन् । उनमा दिपकराज गिरीको जस्तो अनावश्यक स्टन्ट देखिँदैन । केही दिनअघि दिपकराजले विराजलाई साइबर सेना परिचालन गरेको आरोप लगाएका थिए । यद्यपि, त्यसमा विराजले भने साइबर सेनाबारे आफूलाई ज्ञान नभएको बताइसकेका छन् ।

‘छक्का पञ्जा’ र ‘१२गाउँको तुलना’ मा ‘ज्वाइँसाब’ भने अलि सुस्ताएको देखिन्छ ।

टिप्पणीहरू