अख्तियारको पछिल्लो समाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भलाद्मी स्वभावका र फुकेर पाइला चाल्ने आयुक्त गणेशराज जोशी कार्यवाहक प्रमुख आयुक्त बनेको दुई साता पुगेको छ । यतिखेर आयोगको अर्का आयुक्तमा सावित्री गुरुङ मात्र छिन् । तीनवटा आयुक्त पद खाली छ । नवीन घिमिरेको अवकाशपछि जोशी र गुरुङको टिमले सामान्य विषयका फाइल हेरे पनि महत्वपूर्ण र दूरगामी महत्वका कुनैपनि फाइललाई अघि बढाइ नसकेको स्रोतको दाबी छ ।
कलंकी मालपोतका खरिदार रामहरि सुवेदीको अनाहकमा भएको मृत्युपछि विवादमा आएको स्टिङ्ग रिपोर्टिङ्ग ९र्यापिड एक्सन टिम० नरोकिएपनि त्यसतर्फ आयोग विगतको तुलनामा सचेत बनेको बताइएको छ । बुधबार राती सुन्धाराबाट एघार लाख नगद र युवतीसङ्गै महाकाली सिँचाई आयोजना,कञ्चनपुरका निमित्त प्रमुख डिभिजनल इञ्जिनियर प्रचण्डदेव विष्टलाई सुराकीको आधारमा पक्राउ गरिएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि बिहीबार दिउँसो आयोग पुर्याइएको छ । कञ्चनपुरदेखि नै आयोगको शंका र फलोअपमा परेका उनी ११ लाख रूपैयाँसहित राती सुन्धाराको एउटा होटलमा सुरा र सुन्दरीसहित पक्राउ परेका हुन् ।
उता, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिशन मोलमोलाई गरेको भनिएको ‘टेप रेकर्ड’ को पनि अहिलेसम्म प्रमाणिकरण र आधिकारिकता पुष्टिको काम हुन सकेको छैन । अभियोग लगाइएका विजय मिश्रलाई आयोगमा उपस्थितिको लागि दिइएको यसअघिको सात दिनको म्याद पनि घिमिरेको अवकाशसँगै गुज्रिएको छ ।
मिश्र केहि महिनादेखि जापानमा बस्दै आएका छन् । बाँस्कोटामाथि लागेको आरोप आयोगभित्रको प्रहरी टिमले अनुसन्धान गरिरहेको बताइएको छ । आयोगमा सबैतिर गरेर झण्डै चार सय जनाको प्रहरी टिम छ ।
टिप्पणीहरू