बालुवाटारमा आइतबार जे–जे भयो…

बालुवाटारमा आइतबार जे–जे भयो…

आइतबार विहानैदेखि राजनीतिक बजार गर्मायो, मन्त्रिपरिषद् पुनर्गठनको हल्लाले ।

प्रधानमन्त्रीले दिउँसो १२ बजे आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाउन मुख्यसचिवलाई निर्देशन दिएलगत्तै मन्त्रिपरिषद् सचिवालयका उपसचिवले सबै मन्त्रीका निजी सचिवहरुलाई बैठकबारे खबर गरे ।

यतिञ्जेलमा कतिपय मन्त्रीले त नित्यकर्म पनि सिध्याएका थिएनन् ।

तर, केही मन्त्रीहरु खबर पाउनासाथ मन्त्रालय दौडिए । बैठकको एजेण्डाको तयारीमा जुटे ।

मन्त्रिपरिषद्को नियमित बैठक बस्ने अघिल्लो दिन मन्त्रिपरिषद् सचिवालयले नेपाली कागजको एफोर साइजको खाममा रातो मसीले ‘अति गोप्य’ को छाप लगाउँदै ‘सम्बोधित व्यक्तिले मात्र खोल्नुहोला’ लेखिएको खाम प्रत्येक मन्त्रीको सचिवालयमा जान्छ । त्यसभित्र बैठकका एजेण्डा उल्लेखित हुन्छन् ।
तर, आइतबारको बैठकका लागि त्यस्ता कुनै खाम मन्त्रालयहरुमा पुगेका थिएनन् । त्यसैले मन्त्रीहरु विहानैदेखि हतास मनस्थितिमा देखिन्थे ।

कतिपय मन्त्री मन्त्रालय नपुगी सीधै बैठकका निम्ति बालुवाटार पुगेका थिए । उनीहरुको अनुमान थियो कि, ‘यो बैठक आकस्मिक र औपचारिकताका लागि हो, हामी यहीँबाट झण्डा छोपेर जाँदैछौँ ।

मन्त्रिपरिषद् बैठकमात्र हैन, दुई अध्यक्षबीच भएको छलफल पनि त्यस्तै आकस्मिक रुपमा तय भयो ।
सामान्यतया भोलिपल्ट विहान अध्यक्षहरुको भेट हुँदैछ भने अघिल्लो दिन राति नै समय टुंगो लगाइन्छ । तर, आइबार विहानको छलफल त्यसरी भएन ।

प्रचण्ड झस्किएपछि….
पूर्वमाओवादीका तर्फबाट मन्त्री रहेका नेताहरुले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको कुरा अध्यक्ष प्रचण्डलाई सुनाएपछि मात्रै प्रचण्ड झस्किनुभयो, आकस्मिक बैठकको नियतलाई लिएर ।

उहाँले सुन्नासाथ प्रधानमन्त्रीसँग सम्पर्क गर्नुभयो । र, बैठकअघि दुई जनाको छलफल हुने कुरा भयो । उहाँ खुमलटारबाट निस्किनुभयो ।

तयारी तुहियो
आइतबार गर्न खोजिएको थियो, मन्त्रिपरिषद्को अन्तिम बैठक । त्यहीँ प्रधानमन्त्रीले उपस्थित मन्त्रीहरुलाई धन्यवाद ज्ञापन गर्ने र लगत्तै मन्त्रिपरिषद् पुनर्गठनको काममा लाग्ने ।

यतिसम्मकी, शपथ पनि आजै साँझ गर्ने सुरसार चलेको बुझिन्थ्यो, गृह मन्त्रालयको माहोल हेर्दा ।

यो कुरा कसरी पनि पुष्टि हुन्छ भने, आइतबार आकस्मिक रुपमै मन्त्रिपरिषद् बस्नुपर्ने र निर्णय नगरी नहुने त्यस्तो कुनै विषय थिएन ।
भएका निर्णयहरु नियमित बैठकमै गर्दा हुनेखालका थिए ।

विहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएपछि गृहले सम्पूर्ण हलुका सवारी चालकलाई १० बजे नै कार्यालयमा हाजिर हुन निर्देशन दियो ।
सबै चालक भनेकै समयमा पुगे ।

सामान्यतया मन्त्रिपरिषद् गठन वा पुनर्गठन हुँदा मन्त्रीहरु सवार हुने औपचारिक गाडी (कालो रंगको) गृह मन्त्रालयबाट पठाइने गरिन्छ । तर, बहाली हुँदाको दिनमा लगिएकै गाडी मन्त्रीहरुले चढ्नुपर्ने बाध्यकारी व्यवस्था भने छैन । गृहले मन्त्री बहाली हुने दिनका लागि शपथ ग्रहण स्थलमा लैजाने गाडीको इञ्जिन चेकजाँच गर्दै धुने, पखाल्नेजस्ता काम गर्छ । र, शपथ ग्रहण शुरु हुनुअघि शपथ स्थलमा पुगिसकेको हुनुपर्छ ।

तर, आइतबार १० बजे नै बोलाइएका हलुवाका सवारी चालकहरु हाजिर गर्नमै सिमित भए ।

सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनका गृह विभागीय अध्यक्ष ताराप्रसाद अर्याललाई जनआस्थाले दिउँसो २ बजे सोध्यो, तयारीबारे । उनले भने, ‘हामी सवारी चालकहरु विहानैदेखि तयारी अवस्थामा छौँ । तर, गाडी तयार पार्नु भन्ने कुनै खबर छैन । यतिबेलासम्म खबर नआएपछि आज नहोलाजस्तो भयो ।’
गृहमा मात्र हैन, सिंहदरबारभित्रका अन्य मन्त्रालयमा पनि मन्त्री र सल्लाहकारका गाडीको दौडधुप अन्य दिनभन्दा बाक्लोसँग बढेको थियो ।
त्यसो त मन्त्रिपरिषद् पुनर्गठनको विषय राष्ट्रपति कार्यालयसँग जोडिन्छ । तर, त्यहाँ भने यसबारे कुनै चालचुल थिएन ।
‘यदि हो भने निर्धारित समयभन्दा कम्तिमा चार–पाँच घण्टाअघि चिया, खाजा तयार पार्नु, हल सफा गर्नु भन्ने खबर आउँथ्यो’, राष्ट्रपति कार्यालय समारोह प्रवन्ध शाखाका एक कर्मचारीले भने, ‘हल्ला त हामीले पनि सुन्यौँ, तर यता केही भनिएको छैन ।’

हल्लाको असर प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।

त्यहाँको सुरक्षा सेवा निर्देशनालय (सुसेनि) ले नवनियुक्त मन्त्रीका लागि निजी सुरक्षा अधिकृत (पिएसओ) खटाउँछ । मन्त्रिपरिषद्को सचिवालयले नवनियुक्त मन्त्रीहरुको नाम पठाएपछि ती मन्त्रीका लागि खटिने पिएसओ उक्त निर्देशनालयले छान्छ ।

आइतबार सुसेनि दरबन्दी भई कतै नखटिएका सई र असई दर्जाका कर्मचारीलाई स्ट्याण्डबाई राखियो । तर, कतैबाट औपचारिक पत्र वा खबर केही आएन ।
‘हामी त कुनै पनि बेला कर्मचारी खटाउन तयारै छौँ, तर आजचाहिँ खटाइहाल्नु पर्ला कि भन्ने हल्लाले अलिक बढी चासो भयो’, सुसेनिका एक प्रहरी अधिकृतले बताए ।

अध्यक्षद्वयको भेट
१२ बजेको मन्त्रिपरिषद् बैठकअघि नै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल भयो, विषय थियो– मन्त्रिपरिषद् पुनर्गठन ।

खासमा प्रचण्डले किन यसरी आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाउनुपरेको भनेर टेलिफोनमा आश्चर्य प्रकट गरेपछि त्यो छलफल तय भएको थियो । बालुवाटार पुग्नासाथ प्रधानमन्त्रीबाटै उहाँले योजना सुन्नुभयो ।

प्रचण्डले आजभोलि नै हुने पुनर्गठनप्रति असहमति व्यक्त गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘वामदेवजीलाई मुद्दा लगाइएको छ । १४ गते अदालतले दुई पक्षीय छलफल गर्न बोलाएको छ । त्यही मुद्दाबाट पनि नारायणकाजी प्रभावित हुनुहुन्छ । यस्तो स्थितिमा उहाँहरुलाई रोक्नकै लागि मुद्दा हाल्न लगाइएको हो भन्ने कुरा प्रष्टसँग साथीहरुले बुझ्छन् । त्यसपछि साथीहरुले सचिवालय र स्थायी कमिटीको बैठकमा बसिखान दिँदैनन् ।’

उहाँको भनाइ थियो, ‘वामदेवजी र नारायणकाजीलाई मन्त्री बनाउने कि नबनाउने भनेर हामी छलफल गरौँला । तर, आजभोलि नै, उहाँहरुको मुद्दामा दिएको अन्तरिम आदेश जारी भएकै बेला त्यसो गर्दा नियतवस उहाँहरुलाई रोक्न खोजेको अर्थ लाग्ने भयो ।’

प्रधानमन्त्रीले चाहिँ दुबैलाई मन्त्री बनाउने कुरामा रुची नदेखाउनुभएको बालुवाटारस्रोतले बताएको छ ।

विहानको छलफलमा प्रचण्डले कार्यदलको प्रतिवेदन र स्थायी कमिटीको म्याण्डेटविपरित यो शैलीमा गरिने मन्त्रिपरिषद् विस्तारले पार्टीमा विष्फोटक रुप लिन्छ भनेपछि प्रधानमन्त्री आजभोलि नै मन्त्रिपरिषद् तलमाथि गर्नेबाट पछाडि हट्नुभएको स्रोतले जनाएको छ ।

टिप्पणीहरू