रास्वपाको प्रदर्शनमा स्थानीयको 'बिरोध', चुम्माचाटीको फोटो नराख्न निर्देशन

रास्वपाको प्रदर्शनमा स्थानीयको 'बिरोध', चुम्माचाटीको फोटो नराख्न निर्देशन
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ता यतिबेला पोखरामा केन्द्रित छन् । सहकारी ठगी अभियोगमा पक्राउ परेका सभापति रवि लामिछानेको पक्षमा समर्थन जुटाउन रास्वपाले देशभरबाट कार्यकर्ता उतारेको हो । 

रविले सहकारीको पैसा ठगी नगरेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै शनिबारदेखि शुरु भएको प्रदर्शन आज पनि जारी रहनेछ । सिर्जनाचोकमा प्रदर्शनको कार्यक्रम राखिएको छ । तर, 'रवि छुटाऊ' अभियानअन्तर्गत भैरहेको सडक प्रदर्शनमा स्थानीयले सहभागिता नजनाएपछि रास्वपाका नेताहरु तनावमा परेका छन् ।    

सडकको बलमा सभापतिलाई 'क्लिनचिट' दिलाउने उद्धेश्यका साथ प्रदर्शनको पहिलो दिन सहप्रवक्ता मनिष झाले प्रत्येक दिन १० हजार कार्यकर्ता सडकमा ओराल्ने घोषणा गरेका थिए । तर, अनुसन्धानलाई  प्रभावमा पार्ने उद्धेश्यले गरिएको प्रदर्शन दिनप्रतिदिन कमजोर बन्दै गएको छ । 

शनिबार र आइतबारको प्रदर्शनमा राम्रै भीड जम्मा भए पनि सोमबार र मंगलबार कार्यकर्ता खासै देखिएनन् । प्रदर्शन कमजोर बन्दै गएपछि हिजो पार्टीका एक दर्जन नेता पोखराका विभिन्न ठाउँमा पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी भइदिन आग्रह गरिरहेका छन् । 

रवि ठग नै हुन्,फटाह नै हुन् । तर सहकारीको पैसा खाने एमाले र कांग्रेसका नेता पनि छन् नि ! उनीहरुलाई चाहि किन उन्मुक्ति दिइएको त ? हिम्मत छ भने सरकारले उनीहरुलाई पनि समातेर देखाओस् न :

सहप्रवक्ता झाले हिजो दिनभर पोखरा महानगर- १७ मा घैरदैलो नै गरे । घरघरमा पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरे । सांसद हरि ढकालले राति अबेरसम्म विरौटा क्षेत्रमा घरदैलो गरेका थिए । त्यस्तै, तोसिमा कार्की र रमेश प्रसाईले पनि सराङकोट पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन अनुरोध गरे । 

अन्य नेताहरु सुमना श्रेष्ठ,गणेश पराजुली, विराजभक्त श्रेष्ठ लगायत पनि हिजो रातिसम्म घरदैलोमा थिए । 

प्रदर्शनमा सहभागी हुनेहरुका लागि रास्वपाले 'आकर्षक स्किम'समेत ल्याएको बताइन्छ । हेटौँडाबाट पोखरा पुगेका एक व्यक्तिले भनेका छन्, ‘जाने-आउने बस मिलाइदिएका छन् । यहाँ खान बस्न पाइएकै छ । सबै साथीहरु यतै छन्, रमाइलो भै'राछ ।’

‘अनि यो प्रदर्शन किन के को लागि गर्नुभएको त ?’ भन्ने एक पत्रकारको प्रश्नमा उनको जवाफ छ, ‘यो सरकारले अन्याय गरेको छ । एकछिनको लागि ल मानौ, रवि ठग नै हुन्, फटाह नै हुन् । तर सहकारीको पैसा खाने एमाले र कांग्रेसका नेता पनि छन् नि ! उनीहरुलाई चाहि किन उन्मुक्ति दिइएको त ? हिम्मत छ भने सरकारले उनीहरुलाई पनि समातेर देखाओस् न ।’

रवि लामिछानेको रिहाईका लागि राज्यलाई दबाब दिन शक्ति प्रदर्शन गर्ने रास्वपाको रणनीति छ । दशौं हजार मान्छे सजिलै सडकमा उत्रिने र रवि छुट्ने विश्वास लिएका रास्वपाका नेताहरुले यसलाई 'नीलो क्रान्ति'को संज्ञा दिएका छन् । तर, अपेक्षितरुपमा प्रदर्शन अघि बढ्न नसकेपछि रास्वपाले पोखरामा भेला भएका कार्यकर्ताहरूलाई यताउता नगई प्रदर्शनमै केन्द्रित हुन निर्देशन दिएको छ ।

नेता-कार्यकर्ताले आन्दोलनमा भन्दा फोटो सेसन, घुमघाम र चुम्माचाटी गर्न थालेपछि रास्वपाले मोबाइलमा मेसेज पठाएर प्रदर्शनमा केन्द्रित रहन निर्देशन दिएको हो । आन्दोलनबाहेक घुमघामको फोटो  सामाजिक सञ्जालमा पोस्ट गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । 

उता सूर्यदर्शन सहकारीका पीडितहरूले रास्वपाका नेता-कार्यकर्ताले घरमा आएर धम्क्याएको गुनासो गरेका छन् । हिजो उनीहरुले घरघरमा पुगेर भड्काएको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिले जनाएको छ । 

रास्वपाको यो हर्कतले पीडितमाथि पीडा थपिएको जनाउँदै समितिले विज्ञप्ति निकालेर भनेको छ, ‘पार्टीका कार्यकर्ताद्वारा सहकारी पीडित लखेटिएका छन्, पिटिएका छन्, यो विषयले हामी सहकारी पीडित झनै सशँकित भएका छौं ।’

टिप्पणीहरू