अध्यादेश रोकाउन विपक्षी दलका नेता राष्ट्रपतिको दैलोमा

अध्यादेश रोकाउन विपक्षी दलका नेता राष्ट्रपतिको दैलोमा

नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले मुलुकलाई दुई दलीय अधिनायकवादतर्फ लैजानका लागि सरकारले अध्यादेश ल्याउन खोजेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग गुनासो गरेका छन् ।

आज अपरान्ह शीतल निवासमा भेटवार्ता गर्दै प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले अध्यादेश रोक्न राष्ट्रपतिलाई आग्रहसमेत गरे । बहुदलीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरित अध्यादेश ल्याइनसक्ने भन्दै उनीहरुले राष्ट्रपति पौडेललाई विवादमा नपर्ने सुझाव दिएको बुझिएको छ । 

‘संविधानको मर्मविपरीत अध्यादेश ल्याएर राष्ट्रपतिलाई समेत विवादमा पार्न खोजिँदै छ । यसमा सचेत रहनुहोला । विवादमा नपर्नुहोला’, नेताहरुले राष्ट्रपतिलाई सुझाएका छन् । जवाफमा उहाँले आफू संविधानले दिएको अधिकारभन्दा बाहिर नजाने प्रष्ट पारेको बताइएको छ । 

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले मुलुकको परिस्थितिबारे पनि जानकारी गराएका थिए । सरकार सकारात्मक दिशामा अघि नबढेको, बाढी पहिरोलगायत विपत्का घटनाप्रति संवेदनशील नदेखिएको र सुशासनका मुद्दामा कमजोर रहेको उनीहरुले राष्ट्रपतिलाई सुनाए । 

विपक्षी दलले यसअघि प्रधानमन्त्री ओलीलाई पनि भेटेर दल विभाजनसम्बन्धी अध्यादेशसहितका विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

राष्ट्रपतिसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल, सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, हेमजङ गुरुङ र आम जनता पार्टीका नेता तिलक थापामगर सहभागी थिए ।

टिप्पणीहरू